काठमाडौं/ पूर्व डीआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँमा कीर्तेको अनुसन्धान अगाडि बढेको छ। गत पुस ५ गते कीर्ते गरेको अभियोगमा जाहेरी दर्ता भएको थियो।
परिसरका एसएसपी रवीन्द्र धानुकले कीर्ते अनुसन्धानमा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी र महान्यायाधिवक्तासँगको छलफल तथा परामर्शपछि अनुसन्धान अगाडि बढाएका हुन्। परिसरले छुट्टै प्रहरी टोली बनाएर अनुसन्धान अगाडि बढाएको छ।
आफूलाई प्रहरी महानिरीक्षक बनाउनुपर्ने दावीसहित सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेजीसँगै प्रहरी प्रधान कार्यालयले सिलवाललाई कानुन बमोजिम गोप्य रहनुपर्ने कार्यसम्पादन मूल्याङ्कन फाइल कीर्ते गरेको अभियोगमा अनुसन्धान गर्ने निर्णय गरेको थियो।
काठमाडौं परिसरले अनुसन्धानको लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायत सम्बन्धित निकायमा अनुसन्धानको लागि आवश्यक कागजपत्र उपलव्ध गराउने माग गर्दै पत्र समेत पठाइ सकेको प्रहरी स्रोतले जनानकारी दिएको छ। स्रोतले भन्यो, 'अनुसन्धानका लागि आवश्यक काजगपत्र उपलव्ध गराउन सम्बन्धित निकायलाई पत्रचार भइसकेको छ।' कागजपत्र उपलव्ध भएपछि सिलवालले बुझाएको कार्यसम्पादन मूल्यांकन फारमलाई ‘ल्याब टेस्ट’ का लागि विधि विज्ञान प्रयोगशाला पठाउने प्रहरीले जनाएको छ।
अदालतको पूर्ण पाठमा नवराज सिलवालले नै अनुचित माध्यसमबाट कार्यसम्पादन मूल्याङ्कनको अङ्क प्राप्त गरी तोडमोड गरी आफूले बढी अङ्क प्राप्त गरेको भनी इजलासलाई भ्रम पार्ने प्रयास गरेको देखिएकोु उल्लेख छ।
डिआइजी सिलवालले भने आफुले बुझाएको कासमु फाइल अनलाइनमा आएको समचारको आधारमा बुझाएको भन्दै आएका छन्। प्रहरीले संञ्चार माध्यमसम्म अति गोप्य फायल कसरी आइपुग्यो भन्ने विषयमा पनि अनुसन्धान शुरु गरेको छ।
पहिलाेपाेष्ट