भैरहवा/ इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले नेपालमै पहिलोपटक खाना पकाउने बायो ग्यासको व्यावसायिक उत्पादन सुरु गरेको छ । स्थानीयस्तरमा पाइने स्वदेशी कच्चा पदार्थ प्रयोग गरी नवलपरासीको सुक्रौलीमा ग्यास उद्योग सञ्चालन भएको सञ्चालक सन्दीपकुमार अग्रवालले बताए ।
गोबर, कुखुराको सुली, भान्छाबाट निस्कने फोहोर, हरियो पातलगायतको प्रयोग गरी ग्यास उत्पादन गरिएको उनले जानकारी दिए ।
उनका अनुसार उद्योगबाट अहिले दैनिक ८० सिलिन्डर ग्यास उत्पादन भइरहेको छ । प्रतिसिलिन्डर १० किलोग्राम ग्यास रहने उद्योगको उत्पादन क्षमता भनै दैनिक १ सय ५० सिलिन्डर रहेको छ । यो ग्यासको हिटिङ क्षमता पनि एलपिजीभन्दा बढी रहेको उनको भनाइ छ ।
नवलपरासीको रामग्राम नगरपालिका बन्जरियामा जर्मन प्रविधि प्रयोग गरिएको उद्योग स्थापना गर्न २२ करोड रुपैयाँको लगानी भएको उनले बताए । उद्योगले आफ्नो उत्पादन अहिले व्यावसायिक प्रतिष्ठानलाई मात्र बिक्री गरिरहेको छ । ३ महिनादेखि भैरहवामा रहेको वामा तन्दुर्स र केपिएम चाइल्ड सेन्टरको किचनमा ग्यासको परीक्षण गरेको उनले जानकारी दिए ।
अबको ५ महिनामा घरायसी ग्राहकलाई पनि ग्यास बिक्री गर्ने कम्पनीको तयारी छ । १० किलोग्राम तौल रहेको ग्यासको मूल्य करिब ९ सय रुपैयाँ पर्ने जनाइएको छ । एलपी ग्यासको तुलनामा सुरक्षित, बढी तापक्रम भएको र सुलभ पनि रहेको अग्रवालले बताए ।
करिब ३ बिगाहा क्षेत्रफलमा स्थापना गरिएको उद्योगले उत्पादनलाई दीर्घकालीन बनाउन नजिकैको १५ बिगाहा जग्गा भाडामा लिएर मकै खेती गरेको छ । सो मकैको बिरुवा उद्योगबाट ग्यास निकाल्ने कच्चा पदार्थको रूपमा प्रयोग हुने अग्रवालले बताए । वर्षमा ३ देखि ४ पटक उत्पादन दिन सक्ने विशेष खालको मकै भएका कारण कच्चा पदार्थको अभाव नहुने उनको दाबी छ ।
त्यस्तै विभिन्न नगरपालिकाहरूसँग समन्वय गरी ल्यान्डफिल्डसाइडको कुहिने फोहोर जम्मा गरेर दीर्घकालीन रूपमा उद्योग अगाडि बढाउन सकिने उनले बताए । उद्योगले ग्यास उत्पादन गरी बाँकी रहेको कच्चा पदार्थलाई प्रांगारिक मलको रूपमा प्रयोग गर्न सकिन्छ । उद्योगमा चारजना इन्जिनियरसहित ५० जनाले रोजगारी पाएका छन् ।
आवश्यकताअनुसार उद्योगको क्षमता बढाएर ३० देखि ४० टन कच्चा पदार्थ प्रयोग गरी २ सय सिलिन्डरसम्म ग्यास उत्पादन गर्न सकिने अर्का सञ्चालक डा. अभिनव अग्रवालले जनाए । पहिलो बायो ग्यास उत्पादनको सफलतासँगै अब छिट्टै चितवनमा पनि उद्योग सञ्चालन गर्ने तयारी भइरहेको अग्रवालले जानकारी दिए ।