[caption id="attachment_57620" align="aligncenter" width="800"] Upendra Yadav[/caption] काठमाडाैं । वाम गठबन्धनले दुईतिहाइ नजिक बहुमत पाए पनि सत्तारोहणमा संघीय फोरम निर्णायक देखिन थालेको  छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ सांसद रहेको यही पार्टी देखाउँदै एकअर्कालाई दबावमा राख्न खोजिरहेका छन् । ओलीले फोरम अध्यक्ष उपेन्द्र यादवसँग यसै विषयमा चरणवद्ध कुराकानी गरेको बालकोट र फोरम दुवै स्रोतले पुष्टि गरे । ओली निकट नेताहरुले भने संसदमा नवनिर्वाचित पाँच राष्ट्रिय पार्टीमध्ये जोकसैसँग छलफल हुनु स्वाभाविक रहेको भन्दै ओली-यादव भेटको बचाउ गरे । स्रोत भन्छ- ओली र यादवको शनिबारयता तीनपल्ट कुरा भइसक्यो, प्रचण्डले आलोपालो प्रधानमन्त्री मागेपछि उहाँ असन्तुष्ट बन्नुभएको छ । सरकार त एमाले-माओवादीकै बन्ला तर दुवै पार्टीले फोरमलाई देखाएर एकअर्कालाई साइजमा राख्न खोजेका हुन् ।’