पानवारी । २-४ वर्ष इराक बसेर धेरै कमाएर सुखको जीवन विताउने सपना बोकेर इराक पुगेकी भोजपुर ट्याम्केमैयुङ–८ कि ३४ वर्षिय शान्ता राई अहिले थला परेर ह्वील चेयरमा फर्किएकी छन् । श्रीमान् सँग अलग्गिएपछि छोरीको उज्वल भविष्यका लागी तीन वर्ष अघि अवैधानिक तबरबाट विभिन्न दलाल मार्फत् उनी घरेलु कामदार भएर इराकको प्रान्तको रुपमा रहको कुर्दिस्तान पुगेकी थिइन् । उनलाई दलालहरुले भिजिट भिषा मार्फत् इराकको कुर्दिस्तान पुर्रयाएका थिए । उनी कुर्दिस्तानको एक घरमा घरेलु कामदारको रुपमा कार्यरत थिइन् । उनको २४ डिसेम्बर २०१८ मा ३ वर्षे ‘कन्ट्रयाक’ सकिदै थियो । ‘कन्ट्रयाक’ सकिएपछि नेपाल फर्कनु पर्ने भएकोले उनले कुर्दिस्तानमै भागेर काम गर्ने सोच बनाइन् । घरेलु कामदार भएर बस्दा बढी दुःख पाइने र तलब पनि एकदमै कम हुने भएकोले अन्य कम्पनीमा काम गर्न भनी त्यस घरबाट भागीन् । पछि उक्त घर मालिकले उनलाई खोजेर फेरी सोही घरमा ल्याए । घरमा ल्याएपछि उनलाई विभिन्न आरोप लगाइयो । घरका सामान चोरेको आरोप लगाउदै उनलाई कुटपिट गरे । उनी भन्छिन् –‘मलाई कुटपिट गर्नथालेपछि म बेहोस भए पछि थाहा पाउँदा हस्पिटलको बेडमा थिए ।’ उनलाई डिसेम्बर ४ तारिखका दिन कुटपिट भएको थियो । उनी १३ दिनपछि होसमा आइन् होसमा आएपछि उनलाई नेपाल पठाउने प्रकृया मिलाएर उनी २२ डिसेम्बर शुक्रबार नेपाल अइपुगीन् । उनको ढाडमा गहिरो चोट लागेको छ भने ढाडको मेजर अप्रेसन इराकमै गरिएको थियो । दुवै खुट्टा नचल्ने भएका छन् । दाहिने खुट्टामा स्टिल लगाइएको छ भने देब्रे खुट्टा प्लास्टर गरेर राखिएको छ । उनी गत शुक्रबार इराकको राजधानी बग्दादबाट कतार हुदै काठमाडौ आइपुगेकी हुन् । अहिले उनी परिवारसँगै रहेर धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेकी छन् । सोमबार पत्रकार महासंघ सुनसरीको कार्यालय धरान–१३ मा पत्रकार सम्मेलन गरेर उनले आफ्नो पीडा पत्रकारहरुलाई सुनाइन् । उनी कामको सिलसिलामा काठमाडौं बस्दा उनका साथीहरु इराक पुगेर राम्रो कमाइ गरेको सुनेपछि आफु पनि दलाल मार्फत् इराक पुगेको बताउछिन् । उनले भनिन् मलाई स्याङ्जाको ‘राम’ भन्ने बलबहादुर थापामगरले इराक पठाएको हो । उनी भन्छिन् ‘भोली गएर मैलेजस्तो दुःख अरु दिदीबहिनीहरुले भोग्नु नपरोस्, पैसा कमाउने लोभमा परे मेरो यो हालत भयो अब अरुको हालत यस्तो नहोस् ।’ उनी अहिले धरानमा बहिनीसँग बसेर उपचार गरिरहेकीछन् ।