फिल्म हिट हुँदा सबैभन्दा बढी फाइदा कलाकारलाई हुन्छ । नयाँ फिल्मको ओहिरो लाग्छ भने पारिश्रमिक ह्वात्तै बढ्छ । चर्चा पनि कम्ता हुँदैन । तर, केही कलाकारलाई भने फिल्म हिट हुँदा पनि 'हातमा लाग्यो शून्य' भने जस्तै हुन्छ । यस्तै, एक नायक हुन् स्वरुपपुरुष ढकाल । उनी अभिनीत फिल्म 'छक्का पञ्जा २' यस वर्ष प्रदर्शनमा आएको थियो

सुपरहिट फिल्म 'छक्का पञ्जा'को सिक्वेल भएका कारण फिल्मबाट निर्माताले बोराभरी पैसा लगे । केही कलाकारलाई फिल्मले ठूलो राहत दियो । तर, स्वरुपपुरुषको भने किन पटक्कै चर्चा छैन ? फिल्ममा उनको जोडी नायिका स्वस्तिमा खड्कासँग बाँधिएको थियो । फिल्मको कथा नै यी दुईको वरिपरि घुमेको थियो । तर, फिल्ममा न दर्शकले उनको अभिनयको तारिफ गरेको सुनियो न त मिडियामा नै उनको विषयमा समाचारका शिर्षक बने । अहिले उनलाई 'हिट फिल्मको गुमनाम हिरो' भनिन थालिएको छ ।

उनको चर्चा नहुनुको पछाडि नाम चलेका कलाकारहरुको बाहुल्यता फिल्ममा हुनु पनि एक हो । पर्दामा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, प्रियंका कार्की, वर्षा राउत जस्ता कलाकार हुँदा स्वरुपपुरुषमाथी दर्शकको नजर खासै परेन । फिल्ममा स्टार कलाकार भएका कारण उनी दह्रै चेपुवामा परेको प्रष्टै हुन्छ ।

सिनेक्षेत्र स्क्यान्डल मच्चाउन सक्नेहरुको मात्र हो भनिन्छ । कतै यही कारण त होइन स्वरुपपुरुष गुमनाम हुनुको वास्तविकता ? उनको डेब्यू फिल्म 'सुस्केरा' भएपनि 'छक्का पञ्जा २' पहिला हलमा लाग्यो । अझैसम्म पनि उनले पहिलो पटक एक्सन-कटको अनुभव बटुलेको फिल्मको प्रदर्शन मिति तय भएको छैन । यो फिल्ममा उनको मुख्य भूमिका छ ।

'सुस्केरा' प्रदर्शनमा आएर बक्स अफिसमा राम्रै पैसा छापे कतै स्वरुपपुरुषको पनि हिट नायक बन्ने सपना पूरा हुन्थ्यो कि ? आशा गरौं- स्वरुपपुरुषलाई 'सुस्केरा'ले सफलताको सुस्केरा हाल्ने मौका दिनेछ ।