नुवाकोट / भूकम्पपीडितलाई भनेर आएको राहत सामग्री उनीहरूलाई वितरण नै नगरी नष्ट गरिएको छ। २०७२ बैशाखमा गएको भूकम्पमा प्रभावित भएकाहरूलाई वितरण गर्न आएको ठूलो मात्राको राहत सामग्री पीडितलाई वितरण नै नगरी शुक्रबार नष्ट गरिएको हो।

भण्डारण गरिएका राहत सामग्री २०७२ बैशाख र जेठ महिनामा प्राप्त भएको थियो। प्रशासन कार्यालय र राजनीतिक दलबीच वितरण स्थान छनोट सम्बन्धमा उत्पन्न विवादले राहत सामग्री थन्क्याइएको थियो। राहत सामग्री राखेको स्थानमै कुहिएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले एक करोड रुपैयाँ भन्दा बढीका सामग्री विदुर नगरपालिका ६ चण्डीपोखरीमा नष्ट गरेको हो।

राहत सामग्री भण्डारण गरिएको स्थान विदुरस्थित इलम प्रशिक्षण केन्द्रबाट निकालेर नष्ट गरिएको प्रशासनका नायव सुब्बा निलमकुमार भुषालले बताए। सामान प्रहरी, प्रशासन र नगरपालिको रोहबरमा सामग्री नष्ट गरिएको हो। नष्ट गरिएका सामग्री ३४ बोरा लत्ताकपडा, त्रिपाल, बिस्कुट लगायतका सामान रहेका छन्। विदेशी दाताबाट प्राप्त गुणस्तरीय टेन्ट, त्रिपाल, तयारी पोशाक, भाँडावर्तन, औषधिलगायत छन्।

कुहिएका राहत सामग्री व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो। उक्त समितिले राहत सामग्री नष्ट गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए।

'भूकम्पलगत्तै प्राप्त भएको पाँच करोड रुपैयाँ भन्दा बढी मूल्यको राहत सामग्री व्यवस्थित भण्डारणको अभाव तथा भण्डारणको लामो समयसम्म परीक्षण नहुँदा म्याद गुज्रिएकोले नष्ट गरिएको हो' शर्माले भने, 'बन्दोबस्तीका सामग्रीसमेत आधाभन्दा बढी प्रयोगविहीन अवस्थामा पुगेको पाइयो।'

भूकम्प पीडितलाई वितरण नगरी लामो समय चिसो भुइँमा थन्क्याएर बन्द कोठामा भण्डारण गरिएका कारण खाद्य सामग्री कुहिएको र लत्ताकपडा तथा भाडावर्तनसमेत प्रयोग गर्न नमिल्ने भएका थिए।

राहत सामग्री भूकम्प पीडितलाई वितरण नगरी कुहाएको जिल्ला भूकम्प पीडित समितिका संयोजक दिलमान तामाङले गुनासो गरे। 'वितरण गरेको भए करोडौंको राहत सामग्री नष्ट गर्नु नै पर्ने थिएन', उनले भने।