काठमाडौं । शनिवार काठमाडौंको सभागृहमा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको ‘नेपाल नवनिर्माण महाअभियान’ नाम पुस्तक विमोचना कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि थिए भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वक्ताका रुपमा ।
पुस्तकको विमोचन गरेपछि रामचन्द्र पौडेललाई पुस्तकबारे चर्चा गर्न बोलाइयो । अरु कार्यक्रममा छोटो मन्तव्य राख्ने पौडेलले गौतमको पुस्तकबारे चर्चा गर्न बोलाइँदा भने करिव आधा घण्टा ‘भाषण’ गरे । पुस्तकबारे चर्चा गर्दा उनले नेपालको वर्तमान राजनीति र गणतन्त्र प्राप्तीका लागि भएका प्रयासबारे उल्लेख गरे ।
पौडेलपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बोल्ने पालो आयो । प्रचण्डले नेपालको राजनीति, अहिलेको राजनीतिक गतिरोध, वाम गठवन्धनले निर्वाचनमा प्राप्त गरेको सफलता र चुनौतीबारे बोले ।
संविधान जारी भएपछि पहिलोपटक भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट वामपन्थी दलललाई देश निर्माणको जिम्मेवारी प्राप्त भएको भन्दै प्रचण्डले वाम दल चुके देश अर्को दुर्घटनामा पर्नसक्ने खतरा रहेको बताए ।
यछि भनिसकेपछि प्रचण्डले पुस्तककमा उल्लेख भएको विषयतर्फ बोल्न शुरु गरे । पुस्तकबारे बोल्न शुरु गर्दा प्रचण्डले आफ्ना पूर्ववक्ता कांग्रेस नेता रामचन्द्र पौडेलले भनेका कुरालाई सम्झन खोजे ।
‘यस अघि भनिसक्नु भएको छ कमरेड रा.....’ प्रचण्ड बीचमै रोकिए । उनी सबैसँग माफी माग्दै ‘सरी...’ भने ।
‘नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले......’ प्रचण्डले आफ्नो मन्तव्य पुनः शुरु गरे ।
प्रचण्डले पुस्तकको मूल सन्देशप्रति आफू सहमत रहेको बताए पनि केही विषयबारे भने फरक धारणा रोख ।
पुस्तकमा ‘माओवादीलाई शान्तिप्रक्रियामा ल्याइयो...’ मात्रै भनेर ‘जनयुद्ध’को महत्वलाई कमजोर बनाएर उल्लेख गरिएको प्रचण्डले गुनासो गरे ।
एमाले नेता गौतमले आफ्नो पुस्तकमा ‘नेपालमा संघीयता’ आवश्यक नरहेको भनेर भन्न खोजेको विषयमा पनि प्रचण्डले आपत्ति जनाए ।
देश संघीय शासन प्रणालीसहित नयाँ व्यवस्थामा गइसकेको अवस्थामा अब कुनै पनि जिम्मेवार नेताले यसको विरोध गर्न नुहने प्रचण्डको भनाइ थियो ।