काठमाडाैं । संविधानअनुसमार प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पनि नयाँ सरकार गठनका लागि अझै डेढ महिना कुर्नुपर्ने देखिएको छ । राष्ट्रियसभा निर्वाचनपछि मात्र प्रतिनिधिसभा समानुपातिकतर्फका सांसद् छनोट गर्ने संवैधानिक व्यवस्थाका कारण सरकार गठनमा ढिलाइ हुने संकेत देखिएको छ ।

नयाँ सरकारको नेतृत् वगर्ने अनुमान गरिएको नेकपा एमालेले भने सरकार गठनका लागि राष्ट्रियसभा निर्वाचन पर्खन नपर्ने दाबी गर्दै आएको छ । संविधान र कानुनको अपव्याख्या गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता लम्ब्याउन खोजेको आरोप पनि एमालेले लगाउँदै आएको छ ।

‘संविधानको धारा ८४ उपधारा (८) को व्यवस्थाले प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भई आएका सदस्य एवं राष्ट्रियसभाका सदस्यसमेत गरी संघीय संसद्मा कुनै पार्टीको एकतिहाइ सदस्य नपुगेमा समानुपातिक सदस्यबाट पूर्ति गर्नुपर्ने उल्लेख छ’, प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै सदनमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण राष्ट्रियसभा निर्वाचनपछि मात्र प्रतिनिधिसभा निर्वाचनले पूर्णता पाउनेछ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत गरेसँगै राष्ट्रियसभा गठनको बाटो खुलेको छ । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशमा दलीय विवाद हुँदा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको तीन साता त्यसै गुज्रिएको छ । राष्ट्रियसभा निर्वाचन माघको तेस्रो साता भएमा परिणाम कुर्न केही दिन पर्खनुपर्ने छ । परिणामपछि प्रतिनिधिसभाको समानुपातिकबाट सांसद् निर्वाचित गर्ने उम्मेदवारको अन्तिम सूची आयोगले माग्नेछ । त्यसको अध्ययन गरेर परिणाम राष्ट्रपतिसमक्ष पुर्याउन अर्को एक साता लाग्ने र त्यसपछि मात्रै सरकार गठन प्रक्रिया सुरु हुने भएकाेछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठन पछि धकेल्न चलखेल भएको बताएका छन् । ओलीले नयाँ सरकार गठनमा जटिलता उत्पन्न गर्न खोजेको भन्दै सरकारसहित विभिन्न निकायको भूमिकाप्रति असन्तुष्टि जनाएका हुन् ।