विराटनगर/ विगत केही दिनदेखि जारी शीतलहरका कारण मोरङको जनजीवन जटिल बन्दै गइरहेको छ । विगत दुई–तीनदेखि चिसो हावा चल्नाले अतिआवश्यक कामबाहेक मानिस घरबाट बाहिर निस्कन नसकेकाले विराटनगरलगायत जिल्लाका विभिन्न बजारमा चहलपहल निकै घटेको छ । सरकारी कार्यालयमा पनि सेवाग्राहीको चाप घटदै आएकोे छ । औपचारिक रूपले विद्यालय बन्द नगरिए पनि जाडोका कारण विद्यार्थी अन्य दिनको तुलनामा घटेको छ । शीतलहरको प्रभाव सार्वजनिक यातायातको क्षेत्रमा समेत परेको छ । शीतलहरका कारण कतिपय बालबालिका तथा वृद्धवृद्धा रुघाखोकी र निमोनियाले पीडित भएका छन् । विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार गराउन पुग्नेहरुमा त्यस्ता रोगबाट पीडितको संख्या अधिक छ । शीतलहरबाट घरपालुवा चौपायासमेत प्रभावित भएका छन् ।