धरान/इराकको कुर्दिस्तानबाट अपाङ बनेर फर्किएकी भोजपुर गोगने–७ की शान्ता राईको थप उपचारको लागि आर्थिक अभाव भएको छ ।
[caption id="attachment_67849" align="alignnone" width="971"]
इराकबाट अपाङ्ग बनेर फर्किएकी शान्ता राई । तस्बिरःभोजराज[/caption]
उनको परिवारले शुक्रबार सञ्चारकर्मीसामू सहयोगको याचना गरेको छ । अहिले उनको खुट्टाको प्लाष्टिक सर्जरीको लागि करिव अढाई लाख रुपैया आर्थिक अभाव भएको हो । हालसम्म उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो ।
प्रतिष्ठानले दुई दिन अघि विरामी राईलाई काठमाडौं लान सुझाव दिएको पीडितकी दिदी ममता राईले बताइन् । ‘तत्काल अढाई लाख रुपैया जतिको आवश्यकता छ ।’ उनले सञ्चारकर्मीसामू भनिन् । हालसम्म शान्ताको उपचारमा आफन्त तथा विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन् ।
यस क्रममा अपाङ पुनस्र्थापना तथा असहाय सेवा केन्द्र धरानले १० हजार रुपैया सहयोग गरेको थियो भने सरिता साहीले ५ हजार रुपैया सहयोग गरेकी थिइन् । त्यस्तै बैदेशिक रोजगारीको क्रममा दुबईमा रहेका नेपालीहरुले ४० हजार रुपैया सहयोग गरेका छन् । ‘यही सहयोगको भरमा उपचार गराइरहेको थिएँ ।’ दीदी ममताले भनिन् ।
आफन्तहरुबाट ९ हजार रुपैया सहयोग आएको उनले बताइन् । शान्तालाई चाडै उपचार नगरे उनको खुट्टा काट्नु पर्नेसम्मको अवस्था आउने चिकित्सकहरुले सल्लाह दिएको ममता बताउँछिन् । शान्ताको देब्रे खुट्टामा इन्फेक्सन शुरु भइसकेको छ ।
आर्थिक अवस्था न्युन भएकी शान्तालाई २०७१ साल पौषमा स्याङ्जाका दलाल राम भनिने बलबहादुर थापा मगर र शान्ति तामाङले दुबई हुँदै कुर्दिस्तान पु¥याएका थिए । हाल बलबहादुर र तामाङ दुबै फरार छन् । तीनवर्ष काम गरे पनि घरमालिकले घर फर्किन नदिने साथै शारीरिक तथा मानसिक यातना दिने गरेको थियो ।
त्यही यातनाका क्रममा उनलाई घर मालिकले ठूलो साइजको मोबाइलले टाउँकोमा आक्रमण गरेपछि उनी बेहोस हुन पुगेकी थिइन् । तेह्रदिनपछि होस खुल्दा उनी इराकको अस्पतालमा रहेको र त्यही अस्पतालले प्रहरीलाई खबर गरेपछि उनीहरुको सहयोगमा नेपाल फर्किएको पीडित राईले बताइन् । उनको १५ वर्षकी एक छोरीसमेत छिन् ।
उनले आफूलाई बचाई दिनको लागि सहयोगको अपिल गरिन् । उनले सहयोग गर्न चाहानेहरुलाई नविल बैंकको १६१०००७५१०८५६ नम्बरको खाता जम्मा गरिदिन आग्रह गरेकी छन् । आर्थिक अभावकै कारण उनलाई काठमाडौ लानसमेत समस्या भइरहेको छ । शनिबार काठमाडौं तयारी रहेको दिदी ममताले बताइन् ।