धरान/‘सिरियल चोरी’ को घटना बृद्धि भएसँगै धरान–६ पानबारीबासीले शान्तिसुरक्षामा युवा दस्ता परिचालन गर्ने भएको छ । [caption id="attachment_67860" align="alignleft" width="599"] क्याप्सनः शान्तिसुरक्षाको प्रत्याभूति गराउन माग गर्दै इप्रका धरानका डिएसपी रामेश्वर पौडेललाई ज्ञापन पत्र बुझाउँदै धरान–६ का वडा अध्यक्ष भूवनसिंह बस्नेत । तस्बिरः भोजराज[/caption] शान्तिसुरक्षामा प्रहरीलाई सहयोग हुने गरी युवा दस्ता खटाउने भएको हो । पछिल्लो समय चोरीको घटना वृद्धि भएपछि पानबारीबासी आजित छन् । यसका लागि इलाका प्रहरी कार्यालय धरानसँग सुरक्षाको प्रत्याभूति गराउन मागसमेत गरेका छन् । ‘आवश्यक परेको खण्डमा प्रहरीलाई सहयोग गर्ने गरी युवा दस्ता हामी खटाउँछौं ।’ वडा अध्यक्ष भूवनसिंह बस्नेतले इप्रका परिषरमा डिएसपी रामेश्वर पौडेललाई भने । इप्रका प्रमुख डिएसपी पौडेललाई शान्तिसुरक्षा गराई पाउँ भन्दै अध्यक्ष बस्नेतको नेतृत्वमा शुक्रबार पानबारीबासी इप्रकामा डेलिगेसन गएको थियो । डेलिगेसनका क्रममा अध्यक्ष बस्नेतले चोरीका घटना मात्रै हैन, अन्य खाल्का घटनालाई नियन्त्रण गर्नको लागि प्रहरीले सहयोग मागेको खण्डमा युवाहरु परिचालन गर्ने बताए । ‘डिएसपी सा’प भन्नुहुन्छ भने हामी प्रहरीको नेतृत्वमा युवाहरु खटाइदिन्छौं ।’ बस्नेतले डिएसपी सामू भने । डिएसपी पौडेलले पनि उक्त कुरालाई सकरात्मक रुपमा लिँदै तत्काल दुई जना सिपाहीको दरबन्दी बढाउने बताए । ‘तुरुन्तै दुई जना सिपाही व्यवस्था गरिदिन्छु ।’ डिएसपी पौडेलले भने, ‘जिल्लामा जानकारी गराएर केही दिन भित्र थप दुईजना बढाउँला ।’ उनले युवा परिचालन भए प्रहरीलाई थप सहयोग हुने कुरा बताए । हाल धरान इलाकामा १२५ जना प्रहरीहरु कार्यरत छन् । दरबन्दी अनुसार ३० जना अझै अपुग छ । जनशक्ति कम भएकाले पनि चोरको मनोबल बढेको हुन सक्ने डिएसपी पौडेले बताए । ‘अपराधिक मनोवृति कम गर्न तुरुन्तै केही दरबन्दी थप्छौं ।’ उनले भने । पानबारी तिब्र शहरीकरण हुने क्रममा छ । हाल उक्त क्षेत्रमा रहेको स्कुल, सामुदायिक वनलगायतमा चोरहरुले निशाना बनाइरहेका छन् । पछिल्लो दुई साता यता मात्रै करिव ७ वटा भन्दा बढी चोरीको घटना भइसकेको स्थानीय पत्रकार रणध्वज लोहारले बताए । प्रहरीको गतिविधि केही कम हुँदा पानबारीबाट लागूऔषधजन्य कुराहरु पनि भित्रिने गरेको स्थानीय अमर कटुवालले चिन्ता प्रकट गरे । त्यसका लागि पनि प्रहरीको संख्या बढाउन जरुरी रहेको उनले बताए । ‘शान्ति सुरक्षा समिति नै गठन गरेर १५–२० जना युवा दिन हामी तयार छौं ।’ उनले पनि भने ।