धरान/निर्माण शुरु भएलगत्तै धरान–चतरा जोड्ने सर्दु पुल निर्माणमा धनकुटे सडकबासीले विवाद झिकेका छन् ।
[caption id="attachment_67099" align="alignnone" width="960"] तस्बिरः चाेत्लुङकाे फेसबुक[/caption]
पुलका कारण देखाउँदै धनकुटे रोडबासीहरुको आफ्नो घरजग्गा जाने भन्दै तल्लो क्षेत्रबाट पुल निर्माण गर्न सम्बन्धित पक्षलाई शुक्रबार दवाव दिएका छन् । सार्वजनिक सडक ऐन २०३१ मै धनकुटे रोडको मापदण्ड २०४ फिट कायम छ ।
तर, पनि धनकुटे रोडबासीद्वारा गठित ‘धनकुटे रोड संयुक्त उपभोक्ता संर्घष समिति’ ले पुलको विरोध गरिरहेका छन् । उक्त पुल चतरावासी तथा धरान–१७ को केही भागको लाइफलाइनको रुपमा रहेको छ । धनकुटे रोडबाट बाइपास गरी तिनकुने, विपी प्रतिष्ठानको दक्षिण गेट, सर्दुको ५ नम्बर पुल हुँदै चतरा जोड्नु पर्ने माग रहेको समितिका अध्यक्ष निनाचन्द्र राईले बताए ।
निनाचन्द्रको उक्त रोडको मुखमै वोनस मल नामक सपिङ कम्प्लेक्स रहेको छ । रोड वाइपास गर्न माग गर्दै यो समिति विगत एकवर्षदेखि आन्दोलित छ । शुक्रबार पुल निर्माण क्षेत्र पुगेका उनीहरुबीच रेल्वेवासीबीच झडपको स्थिति सिर्जना भएको थियो ।
अध्यक्ष राईले वडा अध्यक्ष सूर्य भट्टराईको नेतृत्वमा आफूहरुमाथि आक्रमणको प्रयास भएको आरोप लगाए । यता वडा अध्यक्ष भट्टराईले पुल निर्माण कुनै पनि हालतमा नरोकिने प्रष्ट पारे । उनले समितिको मागलाई वार्ताको माध्यमबाट हल गर्न आफू तयार भएको बताए । तर, पुल निर्माणलाई नै रोक्ने गरीको गतिविधि नर्गन उनले आग्रह गरेका थिए ।
उक्त पुल निर्माणको जिम्मा रसुवा कन्ट्रकसनले पाएको छ । उसले तीनवर्षभित्र अर्थात २०७६ कात्तिकसम्म सक्ने गरी सम्झौता गरेको छ । उसले धरानदेखि सिन्धुलीको भिमानसम्म ४३ वटा पुलको ठेक्का लिएको छ । २५० मिटर लम्बाई रहेको सर्दुको पुलको काम केही दिन अघिदेखि शुरु भएको हो ।