भद्रपुर । खानेपानी उपभोक्ता तथा सरसफाइ समिति भद्रपुर १० चन्द्रगढीको १६ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीकोे सभापतित्व तथा खानेपानी डिभिजन कार्यालय झापाका डिभिजन प्रमुख सीताराम काफ्लेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । समितिका अध्यक्ष अधिकारीले संस्थाको निति तथा कार्यक्रमको प्रतिवेदन प्रस्तुत् गरेका थिए । समितिले भौतिक संरचनाको निर्माण,मर्मत संभार,दैनिक वितरण व्यवस्थापन,सहलगानी कार्यक्रम,सफ्टवेयर प्रणालि,पाइपलाइन विस्तार लगायतका कार्यक्रमलाइ प्राथमिकतामा राखेको जनाएको छ । कार्यक्रममा समितिका अध्यक्ष राजन आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । गत आ.व ०७३।७४मा आम्दानी तर्फ १ करोड ९४ लाख ९० हजार एक सय ४७ र १ करोड ५३ लाख ६० हजार सात सय ९४ खर्च गरि ४१ लाख २९ हजार तीनसय ७९ रुपैया बचत रहेको जनाएको छ । त्यसैगरि चालु आ.व ०७४।७५को लागि २ करोड ६१ लाख ४५ हजार दुइसय ८१ अनुमानित आय र २ करोड १४ लाख ५७ हजार अनुमानित खर्च भई ४६ लाख ८८ हजार दुइसय ८१ बचत हुने प्रस्तावित बजेटको प्रतिवेदन प्रस्तुत गरेका थिए । समितिका उपाध्यक्ष रेखा अधिकारीले स्वागत गरेको कार्यक्रममा चन्द्रगढी दोस्रो खानेपानी आयोजनका अध्यक्ष विष्णु सिवाकोटी,झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विवेक पोखरेल, ऐमाले भद्रपुर नगर अध्यक्ष व्रम्हलाल ढुङगनाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव बाबुराम कार्कीले गरेका थिए ।