भद्रपुर । मौसम खराबसँगै बाक्लो हुस्सुका कारण काठमाडौबाट झापा उडान भर्ने सबै विमान रद्द भएको छ । झापा लगायत देशभर शीतलहर बढेसँगै शनिवार झापाको भद्रपुरस्थित चन्द्रगढी नागरिक उडयान कार्यालयमा पनि विमान उडान ठप्प भएको हो । चन्द्रगढी नागरिक उड्यान कार्यालयका प्रमुख पूर्ण चुडाले शनिवार काठमाडौबाट झापा आउने आठ वटा विमान रद्द भएको बताए । यती, सौर्य , श्री एयरलान्सको दुई दुई वटा र बुद्ध र नेपाल एयरलान्सको एक एक वटा जहाज रद्द भएको उनले जनाए । यो विमानस्थललाई पाँच किलोमिटर भिजिविलिटि आवश्यक पर्ने भएकोले शनिवार एक देखि डेढ किलोमिटर मात्र भिजिविलिटि रहेकाले विमान बस्न नसकेको उनको भनाइ छ । यो बर्ष पहिलो पटक सबै विमान रद्द भएको उनले बताए । यस विमानस्थलमा काठमाडौ– भद्रपुर–काठमाडौ दैनिक ८ देखि १० विमानले सेवा प्रवाह गर्दै आइरहेको कार्यालयले जनाएको छ । शीतलहरका कारण शनिवार दिनभर झापा जिल्लाको जनजिवन अस्तव्यस्त बनेको थियो । दिनभर घाम नदेखिएकोले सर्वसाधारण समस्या परेको थियो । बजार तथा सडकमा सर्वसाधरण अन्य दिनको तुलनामा कम देखिएका थिए । कुनै कुनै स्थानमा आगो बालेर जाडोलाइ प्रतिकार गरिरहेको पाइएको छ । जाडो बढेपनि वनभोज स्थलहरु भने भरिपुर्ण बनेका थिए ।