युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ पूर्व निर्धारित मितिमा प्रदर्शन नहुने कन्फर्म भएको छ । हालसालै फिल्मको छायांकन सकिएका कारण पोस्टप्रोडक्शन कार्य लम्बिने भएपछि ‘लिलिबिली’ चैत ३० गते प्रदर्शनमा नआउने भएको हो । निर्माता गोविन्द शाहीका अनुसार, अब यो फिल्म बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ । फिल्मीखबर डटकमसँग कुराकानी गर्दै निर्माता शाहीले भने, ‘पोस्टप्रोडक्शनको काम लम्बिने छाँटकाट देखिएपछि ‘लिलिबिली’लाई चैत ३० मा ल्याउन नसक्ने भएका हौं । चाँडै हामी एक गीत सार्वजनिक गरेर फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गर्नेछौं । अब हाम्रो तयारी भने बैशाख १४ गते फिल्मलाई प्रदर्शनमा ल्याउने छ ।’ मिलन चाम्स निर्देशित यो फिल्ममा प्रदीप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुपविक्रम शाही लगायतका कलाकारहरुको अभिनय छ । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । यो फिल्मको छायांकन लन्डन, स्कटल्याण्ड, टर्कीको स्थानबुल र नेपालमा गरिएको छ । ‘लिलिबिली’ चैत ३० बाट हट्नुको कारण बलिउड स्टार अक्षय कुमार र साउथ सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘२.०’ लाई मानिएको छ । यसअघि बैशाख १४ मा आउने भनिएको ‘२.०’ बैशाख १ अर्थात्, अप्रिल १४ मा आउने भएपछि ‘लिलिबिली’को रिलिज पोस्टपोन्ड गरिएको स्रोत बताउँछ । रोचक कुरा त के छ भने ‘लिलिबिली’ले तोकेको नयाँ प्रदर्शन मितिमा पनि नायिका केकी अधिकारी अभिनीत तथा निर्मित फिल्म ‘कोहलपुर एक्सप्रेस’ प्रदर्शनमा आउने फाइनल भइसकेको छ ।