वैदेशिक रोजगारीमा जान अबदेखि सीप अनिवार्य गरिने भएको छ । कुनै  सीप नसिकी वैदेशिक रोजगारीमा जाने कामदारको बर्चस्व रहेको बेला वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सीप अनिवार्य गर्ने तयारी गरेको हो ।

बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारलाई सीप अनिवार्य गर्ने प्रस्ताव अघिल्लो साता श्रम तथा रोजगार मन्त्रालयमा पठाएको छ । बोर्डले गरेको प्रस्ताmवमा मन्त्रालयले स्वीकृति जनाउने बित्तिकै कार्यान्वयन हुने बताइएको छ ।

पछिल्ला केही वर्षयता वैदेशिक रोजगारीमा जाने कामदारको संख्या वार्षिक चारदेखि पाँच लाख छ । तीमध्ये अधिकांश सीप नसिकी गइरहेका छन् । सीप नसिकी विदेश जाँदा एकातिर राम्रो पारिश्रमिक पाउन सकेका छैनन् भने अर्कोतर्फ ठूलो संख्याका कामदार पठाउँदासमेत नेपालले प्राप्त गर्ने रेमिटेन्समा सुधार हुन सकेको छैन ।

केही वर्षअघि केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको विवरणअनुसार वैदेशिक रोजगारीमा जानेमध्ये ७५ प्रतिशत अदक्ष हुन्छन् । ठूलो संख्याका कामदार अदक्ष हुँदा विदेशमा तिनै कामदार सर्वाधिक शोषणमा पर्ने गरेका छन् । कामदार शारीरिक, मानसिक, आर्थिक लगायत शोषणमा पर्नुको कारण सीपको अभाव ठानिएपछि पहिलोपटक वैदेशिक रोजगारीमा जान कामदारका लागि सीप अनिवार्य गर्ने तयारी गरिएको हो ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैदेशिक रोजगारीमा जाने कामदारलाई सरकारी र निजी संस्थाले सीप सिकाउने व्यवस्था मिलाउने गरी सीप विकास तालिम कार्यविधि तयार पारी अघिल्लो साता श्रम तथा रोजगार मन्त्रालयमा पठाइएको बताए । ‘सीपलाई बढी व्यवहारिक र कार्यमूलक बनाउन निजी संस्थाले वैदेशिक रोजगारीमा जानेलाई सीप सिकाउने र सरकारी निकायले अनुगमन गर्नुको साथै प्रमाणपत्रको प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ,’ उनले भने ।