माग्ने बुढा : ‘दश लाख लिएको हुँ’
चर्चित हाँस्य व्याङ्ग्य कलाकार केदार घिमिरे अर्थात् माग्ने बुढाले महंगो पारिश्रमिकमा नयाँ फिल्म खेल्ने सम्झौता गरेका छन् । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले निर्माण गर्ने नयाँ फिल्ममा कलाकार घिमिरे दश लाख पारिश्रमिक लिएर अभिनय गर्न तयार भएका हुन् ।
उनले लिएको यो पारिश्रमिक रकम युवा स्टारहरु अनमोल केसी र प्रदीप खड्का पछि उच्च हो भने नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको बराबर हो । दश लाख लिएर फिल्म खेल्ने सम्झौता गरेको कलाकार घिमिरेले स्विकार गरे ।
‘डेढ लाखको आयकर तिर्ने गरी दश लाखमा फिल्म खेल्ने सम्झौता भएको हो’, कलाकार घिमिरेले भने, ‘सुरुमा मलाई उनीहरुले चार लाख पच्चीस हजारको चेक दिएको छ । बाँकी रकम सुटिङ सकिएपछि पाउँछु ।’ उनले पाउने दश लाख पारिश्रमिकमा डेढ लाख कर तिर्नु पर्ने हुन्छ ।
पारिश्रमिक सँगै फिल्मको कथा मन परेर सुदर्शन र पुजासँग काम गर्न आफु तयार भएको केदारले खुलाए । ‘कथा राम्रो लाग्यो । फेरी सुदर्शन जीको फिल्ममा नयाँपन हुन्छ ।
सबै कुरा मिलेपछि फिल्म खेल्न राजी भएको हुँ ।’ ‘छक्का पञ्जा’ टिमले बर्षको एउटा बाहिरी ब्यानरको फिल्म खेल्न फुक्का गरेपछि ‘माग्ने’ नयाँ फिल्म खेल्न तयार भएका हुन् । सुदर्शन र पुजाले बनाउने नयाँ फिल्मको छायाँकन माघदेखि सुरु हुनेछ । फिल्मको लागि नायक भने पक्का भैसकेको छैन ।