राजविराज- कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको अर्नाले आक्रमण गर्दा बुधबार सप्तरीमा एक जना गम्भीर घाइते भएका छन्। अर्नाको आक्रमणबाट सप्तकोसी नगरपालिका–५ सदा बस्तीका ५० वर्षीय झपड सदा घाइते भएका हुन्।
बाख्रालाई घाँस काट्न गएका बेला बाँसघारीमा बसेको अर्नाले सदालाई आक्रमण गरेको थियो। खुट्टाको विभिन्न भाग तथा पेटमा गम्भीर चोट लागेकाले उनलाई अस्पताल भर्ना गरिएको स्थानीय गीता पौडेलले जानकारी दिइन्।
सप्तरीमा हात्ती, अर्ना लगायतका जंगली जनावरको आक्रमणबाट बर्सेनि सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन्। हालसम्म कञ्चनरुप नगरपालिका–१० बदगामाकी ७० वर्षीया फूलवादेवी यादव, हनुमाननगर सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, वैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कञ्चनरुप नगरपालिका–१० का सत्यनारायण यादवकी १३ वर्षीया छोरी सङ्गीता यादव लगायतले हात्ती र अर्नाको आक्रमणबाट ज्यान गुमाइसकेका छन्।
आरक्षका हात्ती, अर्ना, बँदेल लगायतका वन्यजन्तुबाट जिल्लाको पूर्वी भेगस्थित भारदह, कञ्चनपुर, पोर्ताहा, बरमझिया, वैरवा, जोगिनिया, हनुमाननगर, फत्तेपुर, ओद्राहा, कमलपुर, धरमपुर, घोघनपुर, रुपनगर ठेलिया, जगतपुर, महुली लगायत ठाउँका जनता पीडित हुँदै आएका छन्।