काठमाडौं/ पूर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको २९६ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना दिँदै अहिले देशको अस्तित्व नै खतरामा रहेकाले सम्हालिएर अघि बढ्नु पर्ने बताएका छन् ।
शुभकामना सन्देशमा पूर्व राजा ज्ञानेन्द्रले मानवसमाजको समष्टिगत एकता, मौलिक सँस्कृति, धर्म, परम्परा र विशिष्ट पहिचानको समग्र रुप देश रहेको र देश बाँचे मात्रै नागरिक बाँच्ने उल्लेख गरेका छन् ।
नयाँ नेपालको सपना देखाउँदै भएको राजनीतिक परिवर्तनले देशको विशिष्ट पहिचानलाई उचो बनाउनुको साटो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा क्षेत्रीय अखण्डता मक्किँदै गएको शुभकामना सन्देशमा उल्लेख छ । स्वतन्त्र र सार्वभौम देशका लागि भौगोलिक एवम् सामाजिक एकताको कडीमा नागरिक रहनु पर्ने र साशनसत्ता पनि त्यहि अनुरुपको हुनु पर्नेमा उनले जोड दिएका छन् ।
अहिले देशको अस्तित्व नै खतरामा रहेकाले सम्हालिएर अघि बढ्नु पर्ने उनको भनाइ छ । उनले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएकोमा खुशी व्यक्ति गर्दै देश राम्रो बन्ने आशाको दियो जागेको बताएका छन् ।