इटहरी । पञ्चाङ् निर्णायक समितिको गलत निर्णयका कारण सोनाम ल्होसार पर्व मान्ने तामाङ समुदायमा भ्रम सिर्जना भएको भन्दै नेपाल तामाङ घेदुङले निर्णय सच्याउन माग गरेको छ ।
घेदुङ १ नम्वर प्रदेशले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरी फागुन ४ गते पर्ने सोनाम ल्होसारलाई माघ ४ गते पारेको भन्दै घेदुङले सो निर्णय सच्याउन माग गरेको हो । तामाङ जातीको परम्परागत साँस्कृतिक पर्व मञ्जुश्री तत्व ज्योतिष पात्रो अनुसार खि नागी ल्हो २५५४ कुुकुर नयाँ वर्ष माघ शुक्ल प्रतिपदा अर्थात् फागुन ४ गते पर्ने घेदुङ १ नम्वर प्रदेश अध्यक्ष मित्रसेन योञ्जनले बताए । पत्रकार सम्मेलनमा घेदुङ पदाधिकारीहरुले माघ ४ गते दिइने विदा समेत सच्याई फागुन ४ गते दिनु पर्ने माग गरेका छन् । यो विषयमा घेदुङ केन्द्रीय समितिले गृह मन्त्रालयमा गत पुस १९ गते नै अपिल पठाइ सकेको प्रदेश नम्वर १ का सह सचिव मणी कितुङ तामाङले बताए । पत्रकार सम्मेलनमा घेदुङ प्रदेश नम्वर १ का सल्लाहाकार समिति संयोजक मनु योञ्जन, वरिष्ठ सल्लाहाकार लक्ष्मण मोक्तान सहित जिल्ला तथा प्रदेशका पदाधिकारीको सहभागिता रहेको थियो । नयाँ वर्षका रुपमा मनाईने सोनाम ल्होसारमा नौनी घिउको टिका लगाई टोटलाको फूल र खादा लगाउने चलन छ ।
यसै बीच घेदुङले पञ्चाङ्ग निर्णायक समितिमा बौद्ध धर्म तथा बौद्ध ज्योतिष शास्त्रका ज्ञातालाई समेत सहभागी गराई वार्षिक क्यालेण्डर तयार गर्न माग गरेको छ ।