विराटनगर / माघ २४ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचिनको लागि प्रदेश नम्बर १ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश १ मा ८ सिटको लागि हुने निर्वाचनमा १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । विराटनगरको वीरेन्द्र सभा गृह हलमा बुधबार भएको मनोनयनमा वामगठबन्धनको तर्फबाट ७, कांग्रेसको तर्फबाट ४, र राप्रपाबाट १ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन कार्यालय विराटनगरका साहयक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए ।
प्रदेश १ मा खुल्ला सदस्यमातर्फ ३ जनाको पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमा गठन्धनको तर्फबाट एमालेका हरिचरण शिवाकोटी, पशुराममेघी गुरुङ र खड्गबहादुर बस्नेत रहेका छन् भने नेपाली कांग्रेसको तर्फबाट रमेशजंघ रायमाझीले उम्मेदावरी दर्ता गरेका छन् । त्यसैगरी १ जना दलित कोटाको लागि २ जनाले उम्मेदवार दर्ता गराएका छन् ।
वामगठबन्धनको तर्फबाट एमालेका खेम नेपाली र नेपाली कांग्रेसको तर्फबाट विन विश्वकर्माले उम्मेदवारी दिएका हुन् । यस्तै अपाङगता तथा अल्पसङख्यकको १ जनाको कोटामा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । एमालेको तर्फबाट अगम प्रसाद बान्तवा, कांग्रेसको तर्फबाट महेश जाजु र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट अनुपमा देवी साहले उम्मेदवारी दिर्ता गराएको मुख्य निर्वाचन कार्यालय विराटनगरका अधिकृत दुलाले जानकारी दिए ।
प्रदेश नम्बर १ मा खुल्ला ३, महिला ३ , दलित १ र अपाङग तथा अल्पसङख्यक मा १ गरी ८ जना चुनिने छन भने मतदानकालागि ९३ जनाप्रदेशसभा सदस्य र २ सय ७४ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा ३ सय ६७ जनाले मतदान गर्नेछन् ।
प्रदेशसभाका ९३ जना सदस्यको ४ हजार ४ सय ६४ र स्थानीय तहका २ सय ७४ प्रतिनिधिको ४ हजार ९ सय ३२ गरी जम्मा मत ९ हजार ३ सय ९६ रहेको छ । एकल संक्रमणीय मतदान प्रकृयाबाट हुने निर्वाचनमा कुल सदरमतलाई चारले भाग गरी त्यसमा एक जोड्दा आउने मत नै बिजयकालागि आवश्यक मत हो । त्यस आधारमा शतप्रतिशत मतदान भई सबै मत सदर भएमा २ हजार ३ सय ५० मत प्राप्त गर्ने उमेदवार बिजयी बन्नेछन् ।
एकल संक्रमणीय प्रणालीमा महिला ३ र खुल्ला ३ जनाको लागि हुने चुनाबमा मतदाताले प्राथमिकताको आधारमा १, २, ३ अंक लेखि मतदान गर्नुपर्ने छ । यसरी भएको मतदानामा कुनैपनि उम्मेदवारले आवश्यक भन्दा बढी मत प्राप्त गरेमा त्यो मत दोश्रो प्राथमिकताको उमेदवारमा संक्रमण हुनेछ । दलित र अल्पसंख्यक वा अपाङ्गता कोटामा बहुमतीय प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।
कसको कति मत ?
प्रदेश नं. १ मा नेकपा एमालेसँग जम्मा मतको बहुमत अर्थात ५५.५६ मत रहेको छ भने माओवादी केन्द्रको ११.२३ मतसहित बाम गठबन्धनको ६६.७९ मत रहेको छ । यस्तै नेपाली काँग्रेसको २९.११ प्रतिशत मत रहेको छ ।
प्रदेशमा एमालेबाट स्थानीय तहका १५४ र प्रदेशसभाका ५१ मतदाता छन् । एमालेको स्थानीय तहका मतदाताको २७७२ र प्रदेश सांसदको २४४८ गरी ५ हजार २ सय २० मत रहेको छ । यस्तै माओवादी केन्द्रको स्थानीय तहका १६ मतदाताको २ सय ८८ र प्रदेश सांसद १६ जनाको ७८८ मत रहको छ ।
प्रदेशसभामा काँग्रेसको स्थानीय तहका ९६ जनाको १ हजार ७ सय २८ र प्रदेशसभाका २१ जनाको १ हजार ८ गरी २ हजार ७ सय २६ मत रहेको छ । प्रदेशमा संघीय समाजवादी फोरमको २१६, राप्रपाको १२० र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मत रहेको छ ।
दलहरुको मत हेर्दा प्रदेशमा काँग्रेसबाट राष्ट्रियसभामा खुल्लातर्फ एक जना र महिलातर्फ एक जनाले चुनाब जित्नेछन् भने बाँकी चार र बहुमतीयका दुईसहित छ सिट बाम गठबन्धनले जित्ने देखिएको छ ।
तीन जना महिला निर्विरोध
माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनकालागि बुधवार भएको उमेदवारी दर्ताका क्रममा प्रदेश नम्वर १ बाट तीन जना महिला सदस्य निर्विरोध भएका छन् ।
प्रदेशबाट निर्वाचित हुने ८ जना सदस्य मध्ये ३ जना महिला हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार तीन जना मात्र महिलाको उमेदवारी परेका कारण उनीहरु निर्विरोध भएका हुन् ।
निर्वाचन आयोगले भने उमेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि मात्र निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गर्ने मुल्य निर्वाचन कार्यालय विराटनगर सायक निर्वाचन अधिकृत नवराज दुलाले जानकारी दिए । निर्विरोध हुनेहरुमा वाम गठवन्धनका नैनकला ओझा र बिना पोखरेल रहेकी छने भने नेपाली कागे्रंसका सरिता प्रसाई रहेका छन् ।