चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण मानिएको बक्स अफिस प्रणाली अब नेपालमा लागू हुने भएको छ । बिहीवार चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यान्वयन समितिका संयोजक नरेन्द्र महर्जनको अध्यक्षमा बसेको बैठकले प्राविधिकहरुसँगको छलफल पश्चात वर्ष २०७५ को तेस्रो महिनाबाट नेपालमा बक्स अफिस लागू गर्ने निर्णय गरेको छ ।

बैशाख १ गतेबाट परिक्षण गर्ने र साउन १ गतेबाट राजधानी भित्र र माघ १ गतेबाट राजधानी बाहिर बक्स अफिस लागू गरिने बोर्ड सदस्य महर्जनले जानकारी दिए । बैठकले सोही अनुसार बक्स अफिस जडान गर्ने कम्पनी  ‘व्रेन डिजिट इट सोलुशन’ लाई जडानका लागि निर्देशन पनि दिएको छ ।

बक्स अफिस कार्यान्वयन समितिमा नरेन्द्रसँगै प्रदीप कुमार उदय, आकाश अधिकारी, कपिल पराजुली र प्रभाकर भट्टराई रहेका छन् । केही वर्ष अघिदेखि बक्स अफिस लागू गर्नका लागि माग बढे पनि कार्यान्वयन हुन सकेको थिएन ।

सुविधासम्पन्न मल्टिप्लेक्सले आफ्नै किसिमले कम्प्युटरजडित बक्स अफिस सञ्चालन गरिरहेका छन् । तर, सिंगल थिएटरमा यो प्रयोगमा छैन । बक्स अफिस लागू हुँदा देशभरिको कारोबार एकै ठाउँमा आउँछ ।