भारतीय व्यापारीको एक करोड चोरी गरेको आरोपमा नेपाली दम्पती पक्राउ परेका छन्। भारतीय प्रहरीले नेपालबाटै ती जोडीलाई पक्राउ गरेको हो।

भीमबहादुर शाही र उनकी श्रीमती मीना नेपालगञ्जबाट पक्राउ परेका हुन्। उनीहरुबाट एक करोड बराबरको चोरीको धनमाल बरामद भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै डेकानक्रोनिकल डटकमले जनाएको छ।

नागराज नामक व्यापारीको घरबाट उनीहरुले सुन तथा हिराका गहना चोरी गरेका हुन्। व्यापारी नागराज तमिलनाडु गएको बेला उनको बेडरुमको ढोका फुटाएर उनीहरु भागेका थिए। भीमबहादुर सोही घरमा सेक्युरिटी गार्डका रुपमा कार्यरत थिए।

घटना ८ डिसेम्बरको हो। १० डिसेम्बरमा मात्र चोरी भएको पत्ता लागेको थियो। सोही दिनदेखि सेक्युरिटी गार्ड फरार भएपछि उनले नै चोरी गरेको आशंकामा बैंगलोरको प्रहरीले नेपाल आएर उनीहरुलाई पक्राउ गरी लगेको हो।

पक्राउ गर्न नेपाल प्रहरीले उनीहरुलाई सहयोग गरेको थियो।