माघ २६ देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कृ’ को एक रोमान्टिक गीत खिच्नका लागि युवा स्टार अनमोल केसी स्कटल्याण्ड प्रस्थान गरेका छन् । शुक्रवार साँझ अनमोलसँगै नायिका अदिती बुढाथोकी, निर्माता द्वय भुवन केसी र सुबास गिरी, निर्देशक सुरेन्द्र पौडेल, छायाँकार पुरुषोत्तम प्रधानसहित फिल्मको जम्बो टिम स्कटल्याण्ड उडेको हो ।
उक्त टिममा लामो समयदेखि भुवनसँग ‘लिभिङ टूगेदर’ मा रहँदै आइरहेकी जीया केसी पनि छिन् । निर्माता तथा नायक केसीले कथाको माग अनुसार नै फिल्मको ‘मैले जानी नजानी’ बोलको गीत विदेशमा खिच्न लागिएको जानकारी दिए । माघ १७ गते यो टिम काठमाडौं फर्किदैछ । अनमोल र अदिती पहिलो पटक विदेशमा फिल्मको सुटिङ गर्दाको अनुभव बटुल्न उत्साहित देखिन्थे ।
ट्रेलर र ‘यति यति पानी’ बोलको गीतले नै प्रतिक्षीत बनेको ‘कृ’ मा अनमोलको रोमान्टिक र एक्सन अवतार देख्न पाइनेछ । सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको ‘कृ’ लाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो ।
यो फिल्ममा अनमोल र अदितीका अलावा सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् ।