विराटनगर । प्रदेश प्रमुख डा.गोविन्द तुम्बाहाङले सोमबार १ नम्बर प्रदेश सभाको पहिलो बैठक तोक्ने भएका छन् । प्रदेश प्रमुख तुम्बाहाङ राजधानी काठमाडौमा रहेकोले सोमबार विराटनगर आउने र पहिलो बैठक तोक्ने उनले जानकारी दिएका हुन् ।

अन्य प्रदेशहरुमा प्रदेशसभाको पहिलो बैठक बस्ने मिति तय भइसक्दा १ नम्बर प्रदेशमा भने अझै आव्हान हुन सकेको छैन् । सोमबारसम्ममा प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो बैठक आव्हान गर्ने प्रदेश प्रमुख तुम्बाहाङले टेलिफोन सम्पर्कमा जानकारी दिए । ‘सोमबार काठमाडौंबाट विराटनगर आउँछु,’ उनले टेलिफोन सम्पर्कमा कुराकानी गर्दै भने, ‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिसँग छलफल गरेर मिति तयर गर्नेछु ।’ ‘सोमबार दलका प्रतिनिधि र त्यसलगत्तै न्यायधिस तथा वरिष्ठ कानुन व्यवसायीसँग छलफल गरेपछि साँझसम्म प्रदेशसभाको बैठक बस्ने मिति तय गर्नेछु’ तुम्बाहाङले भने ।

प्रदेश सभाको पहिलो बैठक विराटनगरमा रहेको जिल्ला समन्वय समितिको कार्यालय मोरङको तल्लो सभा हलमा बस्नेछ । प्रदेशको संसदको पहिलो बैठक कहिले बस्ने टुंगो लागेको नभएता पनि छिट्टै बस्ने मिति तोकिने सरकारी निर्देशन अनुसार हलको व्यवस्थापनमा स्थानीय प्रशासन लागिरहेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको प्रत्यक्ष नेतृत्वमा सचिवालयको व्यवस्थापनको काम अघि बढिरहेको छ । ‘काममा खटाइएका कर्मचारी र लेबरहरुले रातदिन नभनी काम गरिरहेका छन्,’ आचार्यले भने, ‘तत्काल सक्नु र तयारी अवस्थामा रहनु भन्ने हामीलाई निर्देशन छ ।’

प्रदेश संसदको बैठक बस्ने १ सय ४० सिट क्षमता रहेको जिल्ला समन्वय समितिको ग्राउण्ड फ्लोरमा रहेको हलमा सिट मिलाउने र कार्पेट ओछ्याउने काम भने अझै सुरु भएको छैन् । सरकारले हलको मापदण्ड तसिकेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । सोही मापदण्ड अनुसार कार्पेट, कुर्सी र हलभित्रको व्यवस्थापनको काम भइरहेको उनले बताए ।