काठमाडौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एउटा टेलिफोन पाउनका लागि खुलेको पार्टी नभएको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्शको नव निर्वाचित पदाधिकारीको बधाई र शुभकामना दिन आयोजिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले २०४६ सालमा बहुदल पार्टी खेल्ने कारणको प्रसंग उल्लेख गर्दै सो कुरा बताएका हुन्। उनले नयाँ शासन प्रणाली आयो त्यसमा जाऔं भनेर गठन भएको पार्टी पनि नभएको बताए ।
‘२०४६ सालपछि टेलिफोन पाउन निकै गाह्रो थियो। दलले एउटा टेलिफोन पाउँथे । २ – ४ जना मानिस जम्मा भयो एउटा पार्टी खोल्थे। त्यो एक लाइन टेलिफोन लिनका लागि थियो। एमाले एक लाइन टेलिफोन लिनका लागि खोलिएको पार्टी होइन’ अध्यक्ष ओलीले भने, ‘नयाँ प्रणाली स्थापना भएको छ । त्यसमा केही गरिहालौ भनेर खोलिएको पार्टी हो। अहिलेको शासन प्रणाली ल्याउने पार्टी हो।’
एमाले मुख्यालयमा भएको सो कार्यक्रममा ओलीले एमाले जिम्मेवारी राजनीतिक दल भएपनि विभिन्न अफवाह सामना गर्नु परेको बताए। ‘बामपन्थी दल आएपछि सरकार छाड्दैन चुनावै हुदैन भनेर भन्नेहरु अहिले चुनाव भएर पनि सत्ता नछाडि सकेका छन्’ ओलीले भने । कार्यक्रममा उनले शेयर बजारमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने कामको विरोध गरे ।