काठमाडौं । एमालेको भागमा परेका प्रदेश नम्बर १, ३ र ४ का मुख्यमन्त्रीहरुको उम्मदेवारी शीर्षतहैबाट सहमतिमा टुंग्याउन नेतृत्वमाथि दबाव परेको छ । चुनाव गराउँदा पार्टीमा सन्तुलन बिग्रने भन्दै केही पोलिटब्यूरो सदस्यले नेताहरुलाई माथिबाटै सहमति गर्न दबाव दिएका हुन् । मुख्यमन्त्रीको उम्मेद्वार छान्न एमालेभित्रै चुनाव भए प्रदेश १ का शेरधन राई र प्रदेश ३ की अष्टलक्ष्मी शाक्य दुबै जना डेञ्जर जोनमा पर्न सक्ने देखिएको छ । प्रदेश ४ मा पनि पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ दुबैको स्थिति स्पष्ट छैन ।
एमालेले आन्तरिक चुनावबाट मुख्यमन्त्रीको उम्मदेवार छान्ने निचोड निकाले पनि कतिपय नेताले चुनावको साटो सहमति जुटाउन नेतृत्वलाई आग्रह गरेका छन् ।
मंगलबार स्थायी कमिटी बैठकमै पार्टी उपाध्यक्ष तथा ३ नम्बर प्रदेशबाट मुख्यमन्त्री दाबेदार अष्टलक्ष्मी शाक्यका साथै प्रदेश ४ को मुख्यमन्त्री दाबेदार किरण गुरुङलगायतले माथिबाटै मिलाउनु पार्टीको हितमा हुने बताएका थिए ।
एमाले एकताबद्ध छ भन्ने सन्देश दिनका लागि पनि अहिले प्रदेशसभा सांसदहरुलाई गुटमा विभाजित हुने वातावरण सिर्जना नगर्न शाक्यले आग्रह गरेकी थिइन् ।
तर, उपाध्यक्ष शाक्यको प्रस्तावमा झलनाथ खनाल, माधव नेपाललगायतका नेताले सकारात्मक नभएपछि बैठकले सकेसम्म सहमतिमा नेता चुन्ने र सहमति नभए निर्वाचन गराउने निर्णय लिएको हो ।
प्रदेश १ का मुख्यमन्त्रीका दाबेदार भीम आचार्यले खनाल र नेपाललाई चुनावको पक्षमा उभिन दबाव दिएको आशंका एमाले नेताहरुको छ ।
प्रदेश १ः समीकरण फेरिँदै
प्रदेश १ का संयोजक एवं पार्टी सचिव भीम आचार्यले प्रदेशसभामा आफूले टिकट दिएका र समानुपातिकमा राखेकाहरु धेरैले जितेका कारण चुनाव हुँदा आफुले जित्ने पोजिशन नेताहरुलाई सुनाएका छन् ।
जबकि माधव नेपाल पक्षकै नेता जीवन घिमिरेले सो पक्षबाट आफू पनि मुख्यमन्त्रीको उम्मेदवार बन्ने भन्दै आचार्यलाई स्वीकार नगर्ने बताइसकेका छन् । घिमिरेले पनि उम्मदेवारी दिए भने माधव नेपालपक्षको भोट बाँडिने छ र ओली पक्षका शेरधन राईलाई फाइदा पुग्ने छ ।
प्रदेश १ मा एमालेका ५१ सांसद छन् । गुटका आधारमा माधव नेपाल पक्षको संख्या बढी भए पनि भीम आचार्यलाई नेपाल पक्षले नै भोट नदिने कतिपयले बताइसकेका छन् ।
स्थानीय चुनावका बेला उम्मेदवार उठाउन पैसा लिएको आरोप आचार्यमाथि लागेको छ । नेपाल पक्षकै नेतासँग पैसा मागेको प्रमाण कोटेश्वरमा पुगेपछि माधव नेपालसमेत आचार्यको सन्दर्भमा अहिले बोल्न सकेका छैनन् ।
माधव नेपाल खनाल पक्षका मोरङका जीवन घिमिरे, राजकुमार ओझालगायत ८ जना सांसदले भीम आचार्यलाई मत नदिने बताइसकेका छन् । नेपाल पक्षकै राजेन्द्र राई, राजन राई लगायतका सांसदहरु खुलेका छैनन् । नेपाल पक्षकै पाँचथरका गणेश काङवाङले आचार्यलाई समर्थन नगर्ने बताइसकेका छन् ।
राजेन्द्रले चुनावकै बेला शेरधन मुख्यमन्त्री भनेर भोट मागेकाले अहिले भीम आचार्यको पक्षमा उभिन नमिल्ने आफू निकटहरुलाई बताएका छन् । चुनाव भएको अवस्थामा शेधरनको पक्षमा ५१ मध्ये ३० सांसद पुग्न सक्ने स्रोतको दावी छ । एमालेमा दलको नेता जित्न २६ मत भए पुग्छ ।
भीम आचार्य, शेरधन राई र जीवन घिमिरे तीनै जनाले चुनाव भएमा आफूले जित्ने दाबी गरेका छन् । काठमाडौंमै भेटिएका घिमिरेले माधव नेपाल पक्षबाट आफू उम्मेवार हुने बताए । उनले भीम आचार्यले माधव नेपाल र झलनाथ खनाल पक्षको सबै मत नपाउने दावी गरे ।
प्रदेश ३ः अष्टलक्ष्मीलाई अप्ठ्यारो
यता प्रदेश ३ मा भने फरक अवस्था छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउनुपर्छ भन्नेमा अध्यक्ष ओली पनि सकारात्मक छन् । तर, चुनाव भयो भने ओली र नेपाल पक्षमा सांसदहरु विभाजित हुँदा शाक्यको जित्ने निश्चित छैन ।
पार्टी उपाध्यक्ष, नेवार समुदायका साथै महिला, प्रदेश संयोजक र व्यक्तित्वका कारण शाक्यलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै अरुण नेपाल लगायतका नेताले शीर्ष नेतृत्वले संवेदनशीलता देखाउनुपर्ने बताएका छन् ।
जातीय र लैंगिक सन्तुलन मिलाउन पनि नेतृत्वले सहमतिको पहल गर्नुपर्ने उनीहरुको भनाइ छ । यसबारेमा ती नेताहरुले माधव नेपाल, ईश्वर पोखरेल लगायतका नेताहरुसँग पनि कुरा गरेका छन् । ‘अहिले हामीले जातीय र लैंगिक समावेशी आधारमा मुख्यमन्त्री चयन गर्ने अवसर छ । गुटको चुनावका नाममा यो अवसर गुमायौं भने धेरै वर्षसम्म एमालेले आरोपको सामना गर्नुपर्नेछ’ शीर्ष नेताहरुसँग उनीहरुले भनेका छन् ।
तर, भीम आचार्य र राजेन्द्र पाण्डेले भने जातका आधारमा मुख्यमन्त्री बन्ने तर्क गलत रहेको बताएका छन् । प्रदेश ३ मा राजेन्द्र पाण्डे ओली पक्षको उम्मेदवार बन्न खोजिरहेका छन् । उनी चुनावअघिसम्म माधव नेपाल पक्षमा थिए ।
त्यसो त मुख्यमन्त्रीका लागि चुनाव हुँदा ओली पक्षबाटै पोलिटव्यूरो सदस्य राजेन्द्र पाण्डे बाहेक सानु श्रेष्ठ सहित केशव स्थापित, डोरमणि पौडेल र कैलाश ढुंगेल संसदीय दलको नेताको दाबेदारका रुपमा देखिएका छन् । यद्यपि ओलीले अहिलेसम्म कसैलाई संकेत दिएका छैनन् ।
प्रदेश ३ को प्रदेशसभामा एमालेका ५८ सांसद छन् । राजेन्द्र पाण्डेले अष्टलक्ष्मी शाक्य र आफ्नो प्रतिस्पर्धा हुँदा आफूले ३८ मत पाउने दाबी गरेका छन् ।
समानुपातिकका केही सांसद प्रष्ट नखुले पनि यहाँ चुनाव हुँदा ओली पक्षको मत बढी छ । ओली पक्षले आफ्नो पक्षमा ३४ सांसद रहेको दाकी गरेको छ ।