'वडा नम्बर ६' बाट सुरु भएको नायिका प्रियंका कार्की तथा निर्देशक एवं अभिनेत्री दीपाश्री निरौलाको मित्रता अझैसम्म उस्तै छ । लाग्छ, अहिले दीपाकोे फिल्ममा प्रियंका अनिवार्य जस्तै भइसकेकी छिन् । 'छक्का पञ्जा ३' मा भने प्रियंका हुन्छिन् वा हुन्नन् चर्चाको विषय बनेको छ । तर, यी दुई अभिनीत फिल्म 'शत्रु गते' चैत ९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

दीपाश्री र प्रियंकाको साथ फिल्ममा मात्र होइन अहिले उद्घाटन कार्यक्रमहरुमा पनि देखिन थालेको छ । मंगलबार यी दुईले मन्डिखाटरमा सञ्चालनमा आउन लागेको 'ग्यालेक्सी डान्स स्कुल' को संयूक्त रुपमा उद्घाटन गरे ।

कार्यकममा निर्देशक निरौलाले उक्त डान्स स्कूलले प्रतिभावान कलाकारको उत्पादन गर्न सघाउने विश्वास व्यक्त गरिन् । यस्तै, नायिका कार्कीले पनि  डान्स प्रतियोगिता हुनु आफैंमा राम्रो काम भएको र यस्ता प्रतियोगिता निष्पक्ष हुनु पर्ने विचार राखिन् ।

यस डान्स स्कूलले नयाँ प्रतिभाको खोजी गर्न सघाउने संस्थाका अध्यक्ष प्रकाश घलेले बताए । संस्थाले देशभरबाट नव-प्रतिभाहरुको छनौट गरेर डान्स प्रतियोगिताको आयोजना समेत गर्न लगेको संस्थाका व्यवस्थापन प्रमुख रमेश थापाले जानकारी दिए ।