भद्रपुर । आकाशमा हेज मिस्ट जस्तो कुहिरो लागेका कारण चार दिनदेखि झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा सेवा अवरुद्ध भएको छ । हवाइ सेवा अवरुद्ध बनेपछि हवाइ यात्रुहरु आफ्नो गन्तव्यतर्फ जान नसकेकाले मारमा परेका छन् । काम विशेषले जानै पर्ने हवाइ यात्रुहरु वैकल्पिक यात्रा गर्न बाध्य बनेकोले दैनिक एक हजार यात्रु प्रभावित भएको चन्द्रगढी नागरिक उडडयान कार्यालयका प्रमुख पूर्ण चुडालले जानकारी दिए । काठमाडौं– भद्रपुर– काठमाडौ दैनिक ८ देखि १० वटा विमानले विमानस्थलबाट सेवा दिर्दै आएतापनि चारदिन देखि झापामा मौसम खराबीका कारण विमान सेवा अवरुद्ध भएको चुडालले बताए । विमानस्थललाई ५ किलोमिटर भिजिविलिटि आवश्यक पर्ने भएकोले अहिले शीतलहर नहुदाँ पनि विमान सेवा सञ्चालन गर्न नसकेको उनको भनाइ छ । आकाशमा हेज मिस्ट जस्तो कुहिरो लागेको कारण २ किलोमिटर मात्र भिजिविलिटि भएकोले विमान सेवा सञ्चालन गर्न समस्या परेको उनले जनाए । विराटनगर विमानस्थल जस्तो आधुनिकस्तरको प्रविधि जडान नहुदाँ समस्या परेको उनले बताए । विराटनगरमा १६०० भिजिविलिटि भएपनि हवाइ सेवा सञ्चालन हुने उनको भनाइ छ । हवाई सेवा सञ्चालनका लागि चर्को घाम, हावा वा पानी परेपछि मात्र सेवा सञ्चालन हुन सक्ने उनले जनाए । यती, सोर्ये, श्री एयरलान्सको दुई÷दुई वटा, बुद्ध र नेपाल एयरलान्सको एक÷ एक वटा विमान रद्द भएको छ । विमान सेवा अवरुद्ध भएपछि हवाइ यात्रुहरुले आफ्नो आवश्यकता अनुसार विराटनगर विमानस्थल वा अन्य वैकल्पिक यात्रा गर्दै आइरहेको एयरलान्यस कम्पनीका कर्मचारी बताउँछन् ।