काठमाडौ/ प्रदेश नं १ को प्रदेशसभा संसदीय दलको नेता छान्न एमालेले निर्वाचन कमिटी गठन गरेको छ । केन्द्रीय सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई दुबैले मुख्यमन्त्रीको दावी नछाडेपछि उनीहरुबीच चुनाव गराउन तीन सदस्य निर्वाचन कमिटी गठन गरेको हो । सोमबार बसेको प्रदेश संगठन कमिटी सचिवालयको बैठकले यस्तो कमिटी गठन गरेको हो ।
एमालेले दलको नेता चयन गर्न अधिवक्ता चुडामणि आचार्य, टीकाराम पुरी र प्रेम पोखरेल रहेको ३ सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ । साथै दलको नेता छान्नका लागि २६ माघमा प्रदेश संसदीय दलको बैठक समेत बोलाएको छ।
प्रदेश संसदीय दलको नेताका लागि पूर्वमन्त्री शेरधन राई, भीम आचार्य प्रतिस्पर्धामा छन। केन्द्रीय सदस्य जीवन घिमिरले समेत दलको नेतामा दावी गरेका छन् । । तीनैजना आकांक्षीले संसदीय दलको नेतामा दावी नछोडेपछि निर्वाचनमा जान लागेको हो ।
एमाले स्थायी समितिले सकेसम्म सर्वसम्मत रुपमा संसदीय दलको नेता चुन्न र सहमति नभए निर्वाचनबाट चुन्न निर्देशन दिइसकेको छ । प्रदेश संसदीय दलको नेता नै उक्त प्रदेशको मुख्यमन्त्री बन्नेछन् । एमालेले वाम गठबन्धनबाट मुख्यमन्त्रीको भाग पाएका प्रदेश १, ३, ४ र ५ मध्ये प्रदेश ५ मा स्थायी समिति सदस्य शंकर पोखरेल संसदीय दलको नेता निर्वारोध चयन भइसकेका छन् । प्रदेश १, ३ र ४ मा भने एक भन्दा बढि आकांक्षी देखिएका छन् ।
सरलपत्रिकाबाट