झापा/ स्थापित चलचित्रकर्मी अशोक शर्मा पुनः चलचित्र क्षेत्रमा फर्किएका छन् । निर्माता, निर्देशक, अभिनेता तथा वितरक अशोक शर्मा एक दशकभन्दा लामो समयपछि पुनः फिल्म निर्माण र निर्देशन क्षेत्रमा फर्किएका छन् । उनी ‘जय भोले’ नामक फिल्मका साथ निर्माण र निर्देशनको क्षेत्रमा फर्किएका हुन् ।
झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै शर्माले फिल्म क्षेत्रलाई अर्को ढंगले अगाडि बढाउने कार्य सम्पन्न झापा र इलामको बिभिन्न स्थानमा छायांकन हुने उक्त चलचित्रको फागुन १ गतेदेखि अर्जुनधाराबाट शुरु गरिने जानकारी दिए । यो चलचित्र आगामी २०७५ साल दशैंको फूलपातीका दिन रिलिजमा आउनेछ । फिल्मको मुख्य पात्रमा पशुपतिप्रसाद चलचित्रबाट उदाएका खगेन्द्र लामिछाने हुनेछन् भने यसमा कथा, पटकथा र संवाद पनि उनकै रहेको छ ।
कार्यक्रममा लामिछानेले राम्रो स्क्रिप्टको अभावमा आफूले खेल्ने फिल्म आफैंले लेखेको दाबी गरे । ‘म फिल्म क्षेत्रमा आएको ५ वर्ष भयो। अशोक शर्मा ३५ वर्षदेखि छन् । अहिलेका साथीहरूमा म आफूलाई नै तीव्र गतिमा स्क्रिप्ट लेख्छु भन्ठान्छु । तर, स्क्रिफ्ट लेख्दै जाँदा उनको जोश र ऊर्जा देखेर आफूलाई नै सुस्त रहेछु भन्ने महसुस गरें’, लामिछानेले भने– ‘कतिपय देशमा अहिले पनि फिल्म उद्योग नै छैन । तर, अग्रजहरूले हामीकहाँ फिल्म उद्योग बनाइदिएको छ । उनीहरूले बनाइदिएकै बाटोलाई मिलाउँदै अगाडि बढिरहेका छौं ।’
झापा र इलाममा सुटिङ हुने फिल्ममा खगेन्द्र र स्वस्तिमा साथमा सौगात मल्ल, सलोन बस्नेत, वसुन्धरा भुसाल, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, रामचन्द्र अधिकारी, शारदा गिरी, सुरेन्द्र केसी, किशोर भण्डारी र अशोक शर्मा प्रमुख भुमिकामा रहनेछन् । स्थानीय कलाकार माधब खतिवडा, सुजना खतिवडा, मुना प्रसाई, लगायतले चलचित्रमा अभिनय गर्ने बताइएको छ ।
किरण शर्मा, कृति शर्मा र अंकित शर्माले १ करोड र ६० लाख रुपियाँ लागतमा निर्माण गर्ने फिल्ममा गीत डा. कृष्णहरि बराल, संगीत राजनराज शिवाकोटी र कल्याण सिंह, गायन राजनराज शिवाकोटी, राजेशपायल राई र मेलिना राई, नृत्य निर्देशन वसन्त श्रेष्ठ, द्वन्द्व रोशनविक्रम भट्टराई, छायांकन पुरुषोत्तम प्रधान, सम्पादन राजु ढुंगाना र प्रोडक्सन डिजाइन नगेन्द्र घिमिरेको रहनेछ ।