विराटनगर/माओवादी केन्द्रकी सांसद सरस्वती पोखरेल (शारदा) प्रदेश १ को उपसभामुख हुने निश्चित भएकी छिन् ।

जिल्ला समवन्य समितिको कार्यालय मोरङमा बुधबार भएको उपसभामुखको मनोनयन दर्ताको समयसम्म पोखरेलको मात्र उम्मेदवारी दर्ता भएकोले उपसभामुख बन्ने निश्चित भएको हो ।

एक जनाको मात्रै उम्मेदवारी परेकाले उपसभामुख पनि सर्वसम्मत चयन हुने देखिएको छ । अब प्रदेश सभाको बैठकले पोखरेललाई उपसभामुखमा निर्वाचित भएको घोषणा गर्नेछ ।

सभामुखमा यसअघि नै सुनसरीका प्रदीपकुमार भण्डारी निर्वाचित भएका थिए । सभामुखमा पनि भण्डारीको मात्रै उम्मेदवारी परेको थियो । उपसभामुखका लािग पोखरेलको प्रस्तावकमा खोटाङका माओवादीका सांसद रामकुमार राई र समर्थकमा धनकुटाका एमाले सांसद इन्द्रमणी पराजुली रहेका छन् ।

उम्मेदवारी दर्ता लगत्तै संचारकर्मीसँग कुरा गर्दै पोखरेलले आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्ने बताइन् । ‘मेरो काँधमा ठूलो जिम्मेवारी आएको छ,’ पोखरेलले भनिन्, ‘संघीयताको मर्म र भावना अनुसार कानून निर्माण गर्ने कार्यान्वयन गर्ने कुरामा मेरो जोड रहनेछ ।’

सुनसरी घर भएकी पोखरेल २०३२ सालमा प्युठानमा जन्मिएकी हुन् । उनले २०४६ सालदेखि राजनीति सुरु गरेकी हुन् । । समाजशास्त्रमा स्नातकोत्तर गरेकी पोखरेल ०५४ सालमा एमाले विभाजन पछि मालेमा रहेर काम गरिन भने ०५८ सालदेखि माओवादी जनयुद्धमा सामेल भएकी थिइन् । पोखरेल एमाले निकट अनेरास्ववियुको केन्द्रीय सदस्य समेत भएकी थिइन् । माओवादी भूमिगत रहँदा पोखरेलले संखुवासभाको सेक्रेटरीको रुपमा भूमिका निर्वाह गरिन् । हाल माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य तथा सुनसरी जिल्लाको संयोजकको भूमिका निर्वाह गरिरहेकी पोखरेल समानुपातिक कोटाबाट प्रदेशसभा सांसद भएकी हुन् ।