भोली शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कान्छी’ ले आफ्नो लगानी सुरक्षित गरेको छ । प्रचारसहित फिल्मको लागत २ करोड बताइएको छ । तर, रिलिज अगावै ब्रान्ड र डिजिटल तथा ओभरसिज राइटसबाट यसको लगानी सुरक्षित भएको हो ।
फिल्मीखबर डटकमलाई प्राप्त जानकारी अनुसार, ब्राण्ड पार्टनरबाट ८० लाख र डिजिटल र ओभरसिज राइट्सबाट निर्मात्री श्वेता खड्काले १ करोड २२ लाख हात पारिसकेकी छिन् । अब फिल्मले नेपालबाट गरेको व्यापार श्वेताको नाफा हुनेछ ।
वर्षमा सरदर सयवटा फिल्म निर्माण हुने नेपाली फिल्म उद्योगमा आधा दर्जनले पनि लगानी उठाउँदैनन् । यस्तोमा रिलिज अगावै नेपाली फिल्मको लगानी सुरक्षित हुनुलाई राम्रो मानिन्छ ।
राजनराज सिवाकोटीको संगीत रहेको ‘चरी चट्ट परि’ र अर्जुन पोखरेलको संगीत रहेको ‘ए कान्छी’ बोलको गीतका कारण पनि फिल्म ‘कान्छी’ ले सिनेमा घरमा दर्शकको राम्रो साथ पाउने छनक देखिएको छ ।
फिल्मको मल्टिप्लेक्समा बुकिङ खुल्ला भइसकेको छ । ‘कान्छी’ लाई 'कोहिनूर' फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ ।
यो फिल्ममा दयाहाङ राई, श्वेता खड्का, अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको अभिनय छ । शैलेश खड्का निर्माता रहेको फिल्ममा रविन खड्का सह-निर्माताको रुपमा रहेका छन् ।