फागुन २५ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्म ‘हुर्रे’ को देश दौडाहा सुरु भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिम र कलाकारसहितको टोली बिहीवार पोखरा पुगेको छ । पोखरामा आयोजित पत्रकार भेटघाटमा अभिनेत्री केकी अधिकारीले ‘हुर्रे’ कमेडी प्रधान फिल्म रहेको बताइन् ।

उनले भनिन्, ‘फिल्ममा मैले प्रेमको मोह जालमा फसाउने केटीको भूमिका निर्वाहा गरेकी छु । हेरुन्जेल दर्शकले भरपुर मनोरञ्जन लिनुहुनेछ ।’ उनले ‘हुर्रे’ मा आफ्नो क्यारेक्टरको नाम 'मेनका' रहेको पनि खुलाइन् ।

यस्तै, कलाकार राजाराम पौडेलले फिल्ममा काम गर्दा फेरि आफू १६ वर्ष उमेरमा फर्किएको महशुस गरेको बताए । उनले भने, ‘ठेकीमा दही’ बोलको गीतमा केकीसँग ठुम्का लगाउँदा मलाई १६ वर्ष छँदाको याद आयो । मैले पहिलो पटक नेपाली फिल्ममा रोमान्टिक दृश्य दिन पाएको छु ।’

यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको फिल्ममा दावा शेर्पा, सोनम लामा र छिरिङ दोर्जेको निर्माण छ ।

‘हुर्रे’ मा केकी र राजारामका अलावा अनुपविक्रम शाही, अंकित खड्का, विजय बराल, संगीता नापितलगायतका कलाकारहरुको पनि अभिनय छ । चर्चित संगीतकार राजनराज सिवाकोटीले पनि यो फिल्मबाट अभिनयमा डेब्यू गरेका छन् ।

फिल्ममा केकीले पशुपतिमा फूल बेच्ने यूवतीको भूमिका निर्वाहा गरेकी छिन् । यस्तै, अनुपबिक्रम पशुपति मन्दिरमा पुजापाठ गर्ने पण्डित बनेका छन् । फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन् ।