काठमाडाै । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री केपी ओलीको प्रयास लम्बिएको छ ।
फोरमसँग पटक–पटक वार्ता भए पनि ठोस सहमति जुट्न सकेको छैन । आइतबार पनि दुई चरणमा शीर्ष तहमै छलफल भयो । तर, सहमति निस्किएन । सांसदहरूको शपथका कारण छलफल प्रभावित भए पनि सोमबारसम्म ठोस निष्कर्षमा पुर्याउन दुवै पक्ष घनीभूत रूपमा लागेका छन् ।
तीन विषयले छलफल लम्बिएको छ । सरकार र फोरमबीच दुईबुँदे राजनीतिक सहमतिको मस्यौदामा १७ फागुनमै करिब करिब समझदारी भइसकेको हो । तर फोरम अध्यक्ष यादवले मस्यौदाको पहिलो बुँदामा दुवै पक्षलाई मान्य हुनेगरी संविधान संशोधनका लागि भाषा स्पष्ट रुपमा उल्लेख हुनुपर्ने अडान राखेका छन् ।
फोरम अध्यक्ष उपेन्द्र यादवको वरीयता विषयले पनि बिलम्ब भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली कसैलाई पनि उपप्रधानमन्त्री बनाउने पक्षमा छैनन् । यादव भने आफू दुईपटकसम्म उपप्रधानमन्त्री भइसकेको र दोस्रो पार्टीको अध्यक्ष भएकाले सरकारमा सहभागी हुँदा दोस्रो मर्यादामा रहने गरी उपप्रधानसहित मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेका छन् । मन्त्रालय भागबन्डामा कुरा मिल्न सकेको छैन ।