काठमाडौं । विधानसभाको चुनावी परिणाम पछि भारतको त्रिपुरा राज्यमा हिंसा भड्किएको छ । कम्युनिष्टको किल्ला मानिएको त्रिपुरामा भारतीय जनता पार्टी बिजेपीले चुनाव जितेपछि हिंसा भड्किएको हो ।रुसी क्रान्तिका नायक व्लादिमीर लेनिनको शालिक बिजेपीका कार्यकर्ताले तोडफोड गरेका छन् । त्रिपुरा राज्यका एसपी कमल चक्रवर्तीले बिजेपीका समर्थकले डोजर लगाएर लेनिनको शालिक ढालेको जानकारी दिए । प्रहरीले डोजरसहित चालकलाई पक्राउ गरेको बताइएको छ । साम्यवादी विचारधारका नायक लेनिनको शालिक तोडफोड भएपछि वामपन्थी दलहरु पनि प्रतिकारमा उत्रेका छन् । चुनावी परिणामपछि त्रिपुरा राज्यका विभिन्न ठाउँमा तोडफोड र मारपीट भईरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । २५ वर्षदेखि सत्तामा रहेको कम्युनिष्ट पार्टी सिपिआई (एम) ले जितपछि बिजेपी–आइपिएफटीका कार्यकर्ता हिंसातर्फ उन्मुख भईरहेको आरोप लगाएको छ । उनीहरुले वामपन्थी नेता कार्यकर्ताको घरलाई आक्रमणको निशाना बनाएका छन् । हिंसा अझै बढ्न नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको बताइएको छ ।