काठमाडौं/पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीको नेपाल भ्रमणबारे भारतमा ठूलो चिन्ता देखिएको छ ।

नेपालमा नयाँ सरकार गठनसँगै प्रधानमन्त्री केपी ओलीसँग सम्बन्ध सुधार्न प्रयासरत रहेको भारतले एकाएक ओलीलाई बधाइ दिन पाकिस्तानी प्रधानमन्त्री अब्बास काठमाडौं आएपछि विभिन्न कोणबाट विश्लेषण गर्न थालेको छ । यद्यपी अब्बासीको नेपाल भ्रमणबारे भारतीय विदेशमन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन ।

भारतीय मिडियामा भने पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण र ओली सरकारले उनलाई गरेको सत्कारबारे चर्चा हुन थालेको छ । भारतीय अखबार ‘दैनिक जागरण’ को मंगलबार प्रकाशित अंकमा पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणबारे समाचारका साथसाथै यो भ्रमणबाट भारतका सामू उपस्थित चुनौतीलाई विश्लेषणात्मक रुपमा पेश गरिएको छ ।