पानवारी । विगत ६ वर्षदेखि पर्यटनको क्षेत्रमा काम गर्दै आएको धरानको सेछ ट्राभलिङले महिलाहरुलाई स्कुटी एस्कर्ट (गाइड) को तालिम दिने भएको छ ।
सेछ ट्राभलिङले धरानमा रहेका स्कुटर भएका र १८ देखि ४० वर्षका महिलाहरुलाई गाइड तालिम दिइने प्रबन्ध निर्देशक एलिना मगरले जनाएकी छन् । मगरका अनुसार तालिममा सहभागी भएका महिलाहरुलाई एक समारोहका बीच सार्वजनिक गरिने छ ।
तलिममा सहभागी भएपछि धरानका विभिन्न क्षेत्रमा पर्यटक घुमाउन –गाइड) गर्न सक्ने बनाइनेछ । विशेष गरी उनीहरुलाई धरानको नाइन पोइन्टको रुपमा रहेको बुढासुब्बा मन्दिर, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर, गीता भवन, इस्कोन मन्दिर, घण्टाघर, वि.पी. प्रतिष्ठान, गल्फ कोर्ष र शनि मन्दिरमा पर्यटकहरु घुमाउन सक्ने क्षमता बनाइने मगरको दाबी छ ।
ट्राभलिङकी प्रवन्ध निर्देशक मगरले पर्यटन व्यवसायमा महिलाको उपस्थिति एकदमै न्युन रहेको भन्दै महिलालाई समेत पर्यटन व्यवसायमा सहभागी गराउन तालिमको आयोजन ागर्न लागेको बताइन् । सेछ ट्राभलिङले यस अघि क्षेत्रीय पर्यटन मेला, राष्ट्रिय पर्यटन मेला, अन्तर्राष्ट्रिय मेला वा सभा सम्मेलनमा उपस्थिती जनाउदै देश तथा देशबाहिरका पर्यटकलाई धरान घुम्न आउन प्रेरित गर्दै आएकोछ । साथै भारतको बिहार र बंगालमा समेत सेछले धरान, भेडेटार र एक नं. प्रदेशको प्रवर्धन गर्दै आएको छ ।