पाँचथर । पाँचथर लिम्बूको बसोवास भएको प्रमुख जिल्लाका रूपमा चिनिन्छ । प्राकृतिक रूपमा धनी पाँचथर पर्यटनका क्षेत्रमा पर्याप्त सम्भावना बोकेको जिल्ला हो । भौतिक पूर्वाधार अभावका कारण पर्यटनको विकासमा उल्लेख्य प्रगति हुन सकेको छैन । फिदिम नगरपालिका फाल्गुनन्दको तपोभूमि भएकै कारण किराँतीहरूको अनुसन्धानका लागि सरकारीस्तरबाट नै काम भइरहेको नगरपालिकाकी उपप्रमुख उर्मिला प्रधान (श्रेष्ठ) बताउनुहुन्छ । अनुसन्धानका लागि नगरपालिकाले सहयोग गरिरहेको उहाँले बताउनुभयो । “नगरपालिकाको साधुटारमा पर्यटकका लागि शौचालय निर्माण गरिएको छ,” उहाँले भन्नुभयो । महिलालाई लक्ष्य गरी होमस्टे(घरबास) को अवधारणा अगाडी बढाइएको छ । खाना बनाउन जान्ने र शिक्षित महिलालाई पर्यटन गतिविधिमा सहभागी गराउने नगरपालिकोको उद्देश्य छ । “स्थानीय समुदायलाई लाभान्वित गराउने नगरपालिकाले योजना बनाइरहेको छ,” उहाँले भन्नुभयो । नगरपालिकाले फाल्गुनन्द प्रतिष्ठान विकास योजना कोष खडा गर्न लागेको नगरपालिकाका प्रमुख वसन्तकुमार नेम्वाङले जानकारी दिनुभयो । “फाल्गुनन्दको समाधिस्थलबाट पाथिभरासम्म जोड्ने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो, “पाँचथर र पाथिभराको सम्बन्ध यसले थप बलियो बनाउँछ ।” इलामदेखि पाँचथर हुँदै ताप्लेजुङसम्म पदमार्गको स्थापना गर्नका लागि पाँचथर, इलाम र ताप्लेजुङले योजना बनाइरहेका छन् । सम्बन्धित गाउँपालिका, जिल्ला, प्रदेश र केन्द्रबाटै पर्यटनको विकासका विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । जिल्लासँग जोडिएका सबै जिल्लामा पर्यटकीय मार्गको विकास गर्नका लागि नगरपालिकाले जिल्लाभित्रका सबै स्थानीय तहसँग छलफल गरिसकेको छ । पाँचथरको विविध विशेषताका कारण पनि यहाँका जनप्रतिनिधिले पर्यटनको विकासका लागि जोड दिँदै आएका हुन् । यहाँ ४०.१२ प्रतिशत लिम्बूको बसोवास रहेको छ । जिल्लामा ‘हिलेहाङ दरबार’को भग्नावशेष अहिले पनि देख्न सकिन्छ । महागुरु फाल्गुनन्दको तपोभूमि भएका कारण यहाँका बासिन्दाले जिल्लामा पर्यटनको विकासमा बढी चासो दिने गरेका छन् । फिदिम माविमा कार्यरत शिक्षक हरिचन्द्र लावती पाँचथरमा लिम्बू भाषाको बाहुल्यता भएकाले राज्यले लिम्बूवानलाई महत्वपूर्ण क्षेत्रका रूपमा लिनुपर्ने बताउनुहुन्छ । “ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक रूपमा जिल्ला धनी छ,” उहाँले भन्नुभयो । लिम्बूको भाषिक अध्ययन केन्द्र बनाउन सरकार र सम्बन्धित निकायले चासो दिनुपर्नेमा उहाँले जोड दिनुभयो । फाल्गुनन्दले शान्तिको सन्देश दिँदै यस क्षेत्रमा तपस्या गर्नुभएको थियो । पछि उहाँले आफ्नो कर्मथलो बनाउनुभयो । उहाँले प्रयोग गर्नुभएका सामग्री हालसम्म यहाँ सुरक्षित छन् । फाल्गुनन्दले प्रयोग गरेका चिम्टा, त्रिशूल, खाटलगायत सामग्री सुरक्षित राखिएको फाल्गुनन्द मन्दिरका पूजारी नहेम्हाङ नेम्वाङले जानकारी दिनुभयो । यस मन्दिरमा पूजा गर्दा दुःख, कष्ट अन्त्य हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ । “लिम्बूको संग्रहालयलगायत ऐतिहासिक भग्नावशेषलाई सुरक्षित राख्न सके पर्यटनको विकासमा सहयोग पुग्छ” उहाँले भन्नुभयो ।