पानवारी । एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई पर्यटन व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन १ नं. प्रदेशले विभिन्न २० बुदे माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।
मुख्यमन्त्रीको कार्यालय विराटनगरमा बुधबार संगठनका अध्यक्ष डिल्लिराम शर्मा अधिकारीको नेतृत्वमा पुगेको टोलीले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । संगठनले प्रदेश नं. १ पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना रहेको र प्रदेशको प्रमुख आयस्रोत पर्यटन बन्न सक्ने भन्दै सोही अनुरुपको नीति, योजना तथा कार्यक्रम बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा विराटनगर विमानस्थलको स्तरोन्नती तथा माउण्टेन फ्लाइटको व्यवस्था हुनुपर्ने, धरान, धनकुटा, इलाम लगायतका स्थानमा विमानस्थलको निर्माण गर्नपर्ने, जोगबनी र किमाथांकामा अध्यागमन कार्यालयको स्थापना गर्नुपर्ने, पर्यटन कार्यालय काकडभिट्टालाई प्रदेशभरी विस्तार गर्नुपर्ने, पर्यटन सम्बन्धी व्यवसायहरुलाई सहज दर्ता गर्ने व्यवस्था गर्नुपर्ने, पर्यटन शिक्षाका निम्नि प्राविधिक शिक्षालय स्थापना गर्नुपर्ने लगायतका माग राखेर संगठनले ज्ञापन पत्र बुझाएको हो ।