धरान । महिलाबाट सञ्चालन हुने परियोजनामा आधारित १५ लाखसम्मको सामूहिक ऋणमा ६ प्रतिशत व्याज अनुदान दिइने भएको छ । शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत व्याज अनुदानमा सात लाख र विदेशबाट फर्केका युवाहरुलाई १० लाख ऋण दिने बजेटमा उल्लेख छ ।
बजेटमा उद्योगीहरुले पनि उपहार पाएका छन् । कबोल गरेको अवधिभित्र उत्पादन शुरु गर्ने उद्योगलाई करमा सहुलियत दिने र औद्योगिक उत्पादनको निर्यातमा ५ प्रतिशतसम्म निर्यात अनुदान दिइने भएको छ । दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको आपतकालीन उद्धारका लागि एयर एम्बुलेन्सको व्यवस्था गरिएको छ भने प्रत्येक प्रदेशमा जेष्ठ नागरिक आरोग्य आश्रम खोलिँदै छ । ७० वर्षभन्दा माथिका नागरिकको १ लाखसम्म स्वास्थ्य बीमा गर्ने घोषणा पनि सरकारले बजेटमार्फत गरेको छ ।
दलितलाई सामूहिक जमानीमा १० लाखसम्म ऋण दिने कार्यक्रम बजेटमा समावेश भएको छ भने किसानलाई तत्कालीन साझा सहकारी संस्थाबाट लिएको सम्पूर्ण ऋण मिनाह गरिएको छ ।
बजेटमार्फत कैदी बन्दीलाई समेत सरकारले उपहार दिएको छ । अब कैदीले दैनिक जीवन निर्वाह खर्च ६० रुपैयाँ पाउनेछन् । यसअघि ४५ दिइँदै आएकोमा १५ रुपैयाँ बढाइएको हो ।