विराटनगर । सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा प्रहरीले १ नम्बर प्रदेश स्तरीय सुरक्षा रणनिति तयार पारेको छ ।
प्रदेश नम्बर १ को समग्र सुरक्षा अवस्था, शान्ति सुरक्षामा देखिएका समस्या र चुनौतीहरूको समाधानको लागि गर्नुपर्ने कामहरूबारे छलफल गर्न शुक्रबार विराटनगरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी भएको हो ।
६ वटै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी गरेपछि प्रदेश नम्बर १ मा पनि गृहमन्त्रालयको आयोजनामा भएको सुरक्षा गोष्ठीको उद्घाटन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गरे । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सबै तहका निर्वाचन सम्पन्न भई सरकार सञ्चालन भइरहेको अवस्थामा आयोजना गरिएको गोष्ठीले सुरक्षा निकायलाई जिम्मेवारी वहन गर्न स्पष्ट दिशानिर्देश गर्ने बताए । विभिन्न राजनीतिक दल र समूहको आवरणमा हुने अवाञ्छित गतिविधि, सीमा अपराध र शान्ति सुरक्षालाई प्रभावित पार्ने कुनै पनि गतिविधिलाई निस्तेज पार्न सुरक्षा गोष्ठीले स्पष्ट कार्ययोजना बनाउने उनले बताए ।
गोष्ठीमा गृहमन्त्री थापाबाट हालै घोषणा भएको ८२ बुँदे कार्ययोजना र ३७ बुँदे निर्देशनको कार्यान्वयनको अवस्थाबारे पनि छलफल भएको थियो ।
जिल्ला र प्रदेशस्तरबाट समाधान गर्न सकिने समस्या र चुनौतीलाई औंल्याई समाधानको लागि एकीकृत अवधारणा बनाउन पनि गोष्ठीले सघाऊ पुर्याउने अपेक्षा गरिएको थियो ।
गोष्ठीमा गृह सचिव प्रेम कुमार राई, प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र मुख्य अनुसन्धान निर्देशक दीलिपराज रेग्मीले देशको पछिल्लो सुरक्षा अवस्था र समस्या तथा चुनौती समाधानको लागि गर्नुपर्ने कार्ययोजनाबारे जानकारी गराएका थिए । पछिल्लो समय ठाउँ ठाउँमा विद्रोहि समूहबाट बम विस्फोटन बढेपछि प्रहरीले विद्रोही समूह पक्राउ गर्ने पहिलो मिसन बनाएको गोष्ठीमा सहभागि भएका एक अधिकृतले जानकारी दिए ।
१ नम्बर प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान लगायतका गृह प्रशासनसँग सम्बन्धित सबै निकायका प्रमुखहरूको गोष्ठीमा सहभागिता रहेको थियो ।