भद्रपुर । झापाको साविक पृथीवीनगर ५ हाल भद्रपुर नगरपालिका २ मा रहेको किचकबध धार्मिक,एतिहासिक तथा पर्यटकीय स्थलमा सरसफाई गरिएको छ । किराँत याक्थुङ् चुम्लुङ् भद्रपुर नगरले शनिबार दिउँसो सो क्षेत्रवरिपरी सरसफाई गरेको हो । समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम लिम्बु काम्बाङ्को नेतृत्वमा गएको दुइदर्जन भन्दा बढी स्थानीय तथा पदाधिकारीहरुले क्षेत्रभित्र फालिएको फोहोर तथा झाडीलाई फाँडेर सफा बनाएका थिए । विभिन्न स्थानबाट आउने पर्यटक तथा अवलोकन कर्ताले हेर्दा नराम्रो देखिने भएर यस क्षेत्रलाई सफा तथा सौन्दर्य बनाउने उद्देश्यले एक दिन भएपनि समितिको आयोजनामा सरसफाई गरिएको अध्यक्ष शर्मिला आङ्देम्बेले बताइन् । विश्वमाझ चिनाउनका लागि सवै एकजुट भएर पालैपालो विना स्वार्थ एकदिन यो क्षेत्रलाई समय दिएमा सधै सफा हुने उनको भनाई छ । कार्यक्रममा वडा नम्बर ८का अध्यक्ष तथा सल्लाहकार मनोज सुब्बा,गौरीशंकर खानेपानी उपभोक्ता समितिका अध्यक्ष फाल्गूनन्द लिम्बु, किचकबध धार्मिक,एतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका अध्यक्ष दिल बहादुर थेवे, समितिका सचिव अर्जुन इधिङगो ,समाजसेवी ,सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।