शनिश्चरे । सरकारले सुन व्यवसायमा नीति नबनाएका कारण अनाहकमा व्यवसायीलाई दुःख दिएको मोरङको पथरीशनिश्चरेका सुन व्यवसायीले बताएका छन् । पथरीशनिश्चरे सुनचाँदी व्यवसायी सङ्घ मोरङले बुधबार पथरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी व्यवसायीहरुले सरकारले नीति नबनाई उल्टै व्यवसायीलाई त्रास सिर्जना गरेको टिप्पणी गरे । सङ्घले एक विज्ञप्ति जारी गर्दै कारोबार मिलाउन धरान गएको बेला सङ्घका नगर अध्यक्ष नरेशकुमार विश्वकर्मा घतानी र छोरा सुशान्तलाई पक्राउ गरिएको घटनाप्रति खेद व्यक्त गरे । उनीहरुले सरकारलाई नीति बनाउन पनि माग गरे । घतानीले जेठ २१ गते धरान–१० मुनालपथका आफ्नो कारोबारका साहु प्रेम चोङ्वाङलाई ०७३ भदौ १० गते इटहरीस्थित फाइभ स्टार वुलियन्सबाट खरिद गरेको ५ सय ग्राम र बाँकी आफ्ना पुराना गरगहना जम्मा गरेर रिफाइन गराई ७ सय १२ ग्राम बुझाएका थिए । चोङ्वाङले नै धरान–२ को किसन बम्बैयाकोमा रिफाइन गर्न लगाएर आफूले पाउनेमध्येको केही रकमबापत सुन नै लिइसकेर बाबुछोरालाई उनले घरबाट बिदा गरेका थिए । घरबाहिर निस्कनासाथ घतानी वाबुछोरालाई इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलको टोलीले पक्राउ गरेको थियो । लामो सयमदेखि इमान्दारीपूर्वक व्यवसाय गर्र्दै समाजसेवामा सक्रिय घतानीलाई त्यसरी पक्राउ गरी समग्र व्यवसायीलाई नै त्रसित बनाउनु निन्दनीय काम भएको सङ्घका नगर उपाध्यक्ष डम्बरबहादुर थापा र सचिव रमेश खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सुन व्यवसायको नीति बनाउन माग गरिरहँदा पनि सरकारले नीति नबनाएर आफूहरुलाई व्यवहारिकरुपमा हुने तिरोभरोको कारोबारमा समेत पुराना गहनामा बिल बिनाको कारोबार भन्दै अप्ठेरो पार्न नहुने जिकिर गरिएको छ । ‘यदि अवैध कारोबार थियो भने बेच्ने मात्र नभई किन्ने पनि त उत्तिकै दोषी हुने कानूनी व्यवस्था रहेकोमा सुन लिने चोङ्वाङलाई चाहिँ केहीबेरमै किन छोडियो ?’– उनको प्रश्न छ ।