पानवारी । सरकारले यातायात व्यवसायीको सिण्डिकेट हटाए पनि व्यवसायीले अटेर गरेर राखेको बोर्डहरु ट्राफिक प्रहरीले हटाइदिएको छ । धरानको भानुचोक बसपार्क क्षेत्रमा व्यवसायीले विभिन्न प्रायोजनको लागी राखेका बोर्डहरु जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले शुक्रबार हटाएको छ ।

प्रहरीको टोलीले बोर्डहरु हटाउन थालेपछि व्यवसायी आफैले पनि कतिपय बोर्डहरु हतार हतार निकालेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख होमराज दाहालका अनुसार बसपार्क क्षेत्रमा रहेका र भानुचोक आसपासमा विभिन्न संघको नाम लेखेर राखिएका बोर्ड, संघका नाममा रहेका टेम्पो स्टेण्ड लेखिएका बोर्ड, काउण्टर अगाडी राखिएका बोर्ड गरी करिब ४० वटा बोर्डहरु हटाइएको हो । नेपाल सरकारको नीति अनुसार प्रालिमा नजाने यातायात व्यवसायीका काउण्टर समेत हटाइने जानकारी दाहालले दिएका छन् । उनले यातायात व्यवसायीलाई चाडो प्रालिमा दर्ता गरेर व्यवसाय सञ्चालन गर्न ध्यानाकर्षण गराउने उद्देश्यले बोर्डहरु हटाइएको बताए ।