धनकुटा । विप्लव कार्यकर्ता भएको अभियोगमा पक्राउ परी जिल्ला प्रशासन कार्यालयले तोकेको ३० हजार रुपैयाँ धरौटीमा छुटेका धनकुटा ६ का ध्यानबादुर मोक्तानलाई प्रहरीले पुनः पक्राउ गरेको छ । मोक्तानलाई वडा नं.१० रुद्रबारीमा गएको वैशाख ३० गते बिहान गस्तीमा निस्किएको प्रहरीको गाडीमाथि ढुङ्गा हानेको अभियोगमा सोही दिन पक्राउ गरेको थियो । पक्राउ परेका मोक्तान २५ दिनपछि यहि जेष्ठ २४ गते जिल्ला प्रशासन कार्यालयबाट ३० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । विप्लव माओवादीको बन्दका क्रममा सडक सुरक्षामा निस्किएको प्रहरीको गस्ती टोलीमाथि ढुङ्गा प्रहार गरेको कारण प्रहरीले पक्राउ गरेको दावी गरेपनि मोक्तानले भने आपूmले ढुङ्गा नहानेको बताउँदै आएका छन् । बिहीबार छुटेका मोक्तानले आफू छुटेर कारागारबाट जिल्ला प्रहरी कार्यालयको अगाडिबाट निस्केर घर जाँदै गर्दा प्रहरीले पुनः पक्राउ गरेको बताएका छन् । आफूलाई विनाकारण प्रहरीले दुःख दिएको भन्दै मोक्तानले गुनासो समेत गरेका छन् । मोक्तानलाई पुनः पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्रबहादुर गुरूङले बताए । सुनसरी जिल्लामा घटेको घटनामा पनि संलग्नता रहेको भन्ने जानकारी आएकाले आवश्यक अनुसन्धानका लागि जिम्मा लगाइएको गुरूङले जानकारी दिए । मोक्तानसँगै पक्राउ परेका अर्का कार्यकर्ता विज्ञान भने जिप्रकाले तोकेको धरौटी राख्न नसक्दा कारागारमै सजाय भोगिरहेका छन् ।