मधुमल्ला । खोटाङ साकेला गाउँपालिका वडा नम्बर ५ की भद्रशिला राई यतिबेला न्यायको खोजीमा छिन् । आफूमाथि जबर्जस्ती करणी हुँदासमेत इलाका प्रहरी कार्यालय दमकले उजुरी लिन नमानेको उनको दुखेसो छ । दमक नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय राजा खड्काले उनलाई धाकधम्की दिँदै जबर्जस्ती करणी गरेका थिए । सामाजिक सञ्जालमा चिनजान भएका राजाले तिमीलाई विहे गर्छु भन्दै भेट्न बोलाएर बारम्बार करणी गरेको र आफूले सहारा माग्दा अलपत्र पारेर फरार भएको पीडित राईले बताइन् । राजाले आफूलाई नेपाल आर्मीको मेजर हुँ समेत भन्ने गरेको र सामाजिक सञ्जालमा फोटोहरु राखेको भए तापनि अहिले डिलिट गरेको उनले बताइन् । राजाले फेसबुकमा विभिन्न युवतीहरूलाई ललाई–फकाई गर्दै यौनशोषण गर्ने गरेको बताइन्छ ।
फरार राजालाई सामाजिक सञ्जालमा टाँडीकै एक युवतीसँग बोल्ने क्रममा फेला पारेपछि स्थानीय महेन्द्र थेगिमले पक्राउ गरी प्रहरी कार्यालयमा बुझाएका थिए । तर, प्रहरीले भने न्याय दिनुको साटो जाहेरी नै लिन मानेको छैन । जसका कारण प्रहरीको भूमिका नै शङ्कास्पद देखिएको छ । दमक प्रहरी प्रमुख दीपक गिरीले पीडितलाई नै झपारेका छन् । राजा दमककी एक अधवंैशे युवतीलाई मायाजालमा पारेर मस्ती गर्र्दै हिँडेका छन् । राजाले प्रहरीको आडमा आफूलाई कहाँ गएर के गर्छेस् गर सबै मेरै मान्छे छन् भन्दै थर्काउने गरेको पीडित महिलाले बताइन् ।
काठमाडौंबाट न्याय खोज्दै आएकी उनले आफूलाई न्यायको लागि सहयोग गरिदिन अनुरोध गरेकी छन् । उनले भनिन्, ‘म पागल झैं भैसकेँ । प्रहरीले उजुरी नै लिन नमानेपछि उजुरीको कागज फिर्ता माग्दासमेत दिन मानेको छैन ।’ यसबारे इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक दीपक गिरीसँग बुझ्दा उनले दुवैजनाले विहे गरे पनि कानूनीरुपमा नभएको बताएका छन् । दुवैजनाले विहे गरेको स्वीकार गरे पनि पछि केटाले अर्कै महिलासँग विहे गरेपछि समस्या उत्पन्न भएको उनको भनाइ छ । दुईजनाले सहमति गरेर ३ लाख रुपैयाँमा मिलेको तर, केटाले दिएको ३ लाखको चेकमा रकम नभएपछि पुनः केटीले करणीमा मुद्धा दिन आएको उनको भनाइ छ ।