भोजपुर । आफ्नै बाबुलाई खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अरुण गाउँपालिका–४ चरम्बीका २५ वर्षीय टङ्क भुजेललाई प्रहरीले शनिबार पक्राउ गरेको हो । सामान्य विवाद हुँदा आफ्नै बाबु ५५ वर्षीय दानबहादुर भुजेललाई शुक्रबार साँझ खुकुरी प्रहार गरेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खुकरी प्रहारबाट दानबहादुरको अनुहार र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र प्याउलीमा उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ । खुकुरीसहित छोरा टङ्क भुजेललाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।