भद्रपुर । जनताले कुनैपनि समयमा तत्काल प्रहरीलाई जानकारी गराउन सजिलो होस भन्ने उद्देश्य लिएर झापाको भद्रपुर नगर क्षेत्रभित्र टोल विभाजन गरि ३० जना प्रहरी परिचालित गरेको गरिएको छ । गत असोजमा गृहमन्त्रालयले टोल टोलमा प्रहरी अभियानलाई अघि सारेको आधारमा कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय झापाले पनि शुरु गरेको हो । कार्यालयले शुक्रबार भद्रपुर क्षेत्रका नागरिक तथा संघ संस्थासँग गरेको अभियान तथा पत्रकार सम्मेलन मार्फत टोल विभाजन र प्रहरी जनशक्तिको जिम्मेबारी सार्वजानिक गर्दै अभियान शुर गरेको जनाएको छ । भद्रपुर नगरमा रहेका १० वटा वडालाई एक वडा बराबर तीन वटा टोल विभाजन गरि प्रत्येक टोलमा एकजना प्रहरी जवान तथा हवल्दार रहने झापाका एसपी विष्णु कुमार केसीले जनाए । परिचालन भएको प्रहरीले आफनो टोलमा भएका समस्या,आपराधिक कृयाकलाप, समाजमा घट्नसक्ने घट्नाहरुको बारेमा जानकार भई तत्काल जिल्ला प्रहरी कार्यालयमा जानकारी गराई समस्या बढ्न नदिन प्रहरीको अहम भूमिका हुने एसपी केसीले बताए । परिचालित प्रहरीले नागरिकसँग प्रत्यक्ष सहकार्य गरि काम गर्ने उनले जनाए । यो अभियान देश भरीनै शुक्रबारबाट शुरु भएको समेत उनले बताए । झापाका अन्य नगर तथा गाउँपालिकामा स्थानीय प्रहरीको अगुवाइमा यो कार्यक्रम शुरु भएको उनले जनाए । कार्यक्रममा सहभागी देवेन्द्र गौतमले पछिल्लो समय प्रहरीको कृयाकलापमाथि जनताको नकरात्मक दृष्टिकोण रहेकोले प्रहरीसँग नागरिक विश्वस्त हुनेमा शंका उत्पन्न भएको जनाए । प्रहरीले सामाजिक क्षेत्रसगै सडकको अवस्थाको बारेमा समेत खबरदारी गर्नु पर्नेमा सुझाव दिए । वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर प्रकाश जबेगुले भद्रपुर बजार क्षेत्र भारतीय सीमासँग जोडिएका कारण शान्ति सुरक्षामा सहजताका लागि नगरपालिका सँग सीसी क्यामेरा जडानको लागि बारम्बार पहल गरेपनि वास्ता नगरेकोमा गुनासो गरे । कार्यालयले छलफलको लागि नगरपालिकालाई पत्र तथा मौखिक जानकारी गराएपनि हुन्छ मात्र भनेको तर कार्यान्वयन नभएकोमा दुःख लागेको बताए । अन्य सहभागीले अभियानको बारेमा खुसी व्यक्त गरेका थिए । गृहमन्त्रालयले शान्ती सुरक्षा र सुशासन जनमैत्री प्रहरी र प्रशासन अन्तर्गत गृहप्रशासन सुधार कार्ययोजना २०७४ लागु गरे अनुरुप अभियान शुरु गरेको हो ।