पानवारी । शुक्रबार रातिदेखि देशभरी नै परिरहेको धुलो सहितको धमिलो वर्षा अझै २ दिनसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको राजस्थान आसपासको मरुभूमिमा केहि दिनदेखि चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले बंगलादेशको पश्चिमि क्षेत्र र नेपालमा पहेलो धुलो सहितको वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् ।
श्रेष्ठका अनुसार राजस्थानमा चलेको हुरी विस्तारै पूर्वतिर सर्दै गंगाको फाँट माथिको वायूमण्डलबाट बिस्तार हुँदै नेपालको वायूमण्डलमा समेत प्रवेश गरेको हुँदा देशका विभिन्न स्थानमा परेको बर्षामा धमिलो वा पहेंलो रंगको हिलो मिसिएको पानी परेको देखिन्छ । राजस्थान आसपासको मरुभूमिमा अझै पनि धुलोको हुरी चलेरहेको र सो हुरी पूर्वतिर सर्ने क्रम जारी नै रहेको हुँदा मनसुन सकृय भइ देशको पश्चिमी भागसम्म नफैलिदासम्म अझै केहि दिन सो धुलोको प्रभाव नेपालको वायूमण्डल तथा पर्ने पानीमा देखिने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताएका छन् ।
नेपालको वायुमण्डलमा ४÷५ दिन अघिदेखि नै पहेलो धुलो भएपनि वर्षा भएपछि मात्र सो धुलो स्पष्ट देखिएको समेत श्रेष्ठले बताए । पहेलो धुलो सहितको वर्षाले मानव स्वास्थ्यमा असर गर्ने भएकोले सकेसम्म सो वर्षामा नरुझ्न चिकित्सकले सुझाव दिएका छन् ।